२४ जेष्ठ २०८३, आइतबार

ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्णरुपमा अवरुद्ध

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो । दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुर भञ्याङबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन् ।

दुर्घटनापछि सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । पल्टिएको ट्रक सडकको बीच भागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन् ।

प्रहरीका अनुसार ट्रक हटाउने कार्यका लागि क्रेनसँग समन्वय भइरहेको छ र केहीबेरमै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

कान्तिलोकपथको यो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ । यस क्षेत्रमा वर्षापछि सडकमा ठूलाठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन् ।