
काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले आज पदभार ग्रहण गरेका छन् ।
तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बीकम) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तिर्ण गरेका छन् ।
सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालीन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तत्कालीन सिभिल बैंक, तत्कालीन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य एनआईसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ अनुभवका कारण बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।








प्रतिक्रिया