२२ जेष्ठ २०८३, शुक्रबार

सवारी लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै बागमती सरकार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० कात्तिक । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको पाँच थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ । उक्त एउटा मेसिनले प्रतिघण्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता राख्दछ । तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन ।

प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाका अनुसार सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नविकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्स पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ ।

मन्त्री थापाले भने, “जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्लास्थित केही कार्यालयहरु क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन ।” सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उपदफा ३ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो । अनुमति पत्र छपाइ प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

हाल प्रदेशको १२ लाख र देश भरका १३ लाख गरी २५ लाख बढी सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाइ ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने, तथा जनताले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था छ ।

बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटकपटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचीव वीरेन्द्रदेव भारतीले भने, “जनताको हितका काममा हामी प्रतिबद्ध छौँ । आवश्यक अनुमति प्राप्त भए लगत्तै छपाइ प्रक्रिया सुरु गर्नेगरी तयारी गरिएको छ ।”