२१ असार २०८३, आइतबार

६ वर्षपछि एन्फा प्रेसिडेन्ट लिग हुँदै, विजेतालाई १० लाख

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुने भएको छ ।

एन्फाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कात्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गराएका थिए ।

उनका अनुसार एन्फा फुटबल विकास कार्यक्रमअन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

लिगमा कोशीमा प्रदेशबाट गाईघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौं र टाईगर्स टिम दोलखा, गण्डकीबाट हैरान्स क्लब तनहुँ र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनीबाट जनजागृति युवा क्लब बर्दिया, सुदूरपश्चिमबाट विजय स्पोर्टस् क्लब कैलाली र कर्णालीबाट काक्रेविहार युथ क्लव सुर्खेत सहभागि छन् ।

उनका अनुसार प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ जना गरी ५ जना खेलाडी समावेश गर्न पाउँदा विदेशी खेलाडी भने राख्न नपाउने भएको छ । लिगको सेमिफाइनलमा पुग्ने चार टोलीहरुले यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा समेत सहभागि हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । यस प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागि हेटौंडा उपमहानगरभित्र २ वटा खेल मैदानको व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहेको एन्फाले जनाएको छ ।