१ असार २०८३, सोमबार

१३ वर्षीया छोरीको शव खोज्दै बाबुआमा, प्रहरीले बुझाइदियो अर्कैलाई

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कृष्ण पौडेल

कपिलवस्तु, १८ कात्तिक । दुर्घटनामा मृत्यु भएकी आफ्नी १३ वर्षीया छोरीको शव माग्दै एक दम्पत्ति एक सातादेखि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु धाइरहेका छन् ।

भारत सिद्धार्थनगर बर्डपुर घर भई मायादेवी–१ पकडीमा मजदुरी गर्दै आइरहेका हरिषचन्द्र मल्लाह दुर्घटनामा मृत्यु भएकी छोरीको शव र सवारी चालकमाथि जाहेरी लिएर प्रहरी कार्यालय धाउन थालेको एक हप्ता बितिसक्दा समेत प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

प्रहरीले उल्टै मल्लाह दम्पत्तिलाई तिमिहरुको छोरीको शव उनको श्रीमानको जिम्मा लगाएको भन्दै कार्यालयबाट लखेटिरहेको छ । तर पीडित मल्लाहले आफ्नी १३ वर्षीया छोरी खुशीको विवाह नै नभएको र प्रहरीले घटनाको जाँचबुझ नै नगरी हतारमा बाहिरी व्यक्तिलाई शव बुझाएको आरोप लगाएका छन् ।

यस्तो छ घटना 

पकडीका स्थानीय ताल तलैयामा सिंगडा खेती गर्दै आएका मल्लाह धान स्यहार्न भारत सिद्धार्थनगरस्थित घरमा श्रीमतीसहित कात्तिक १ गते गएका थिए । घरभाडामा बसेका उनले घरबेटी पर्शुराम तेलीलाई आफ्नी १३ वर्षीया छोरी खुशीलाई रेखदेखको जिम्मा लगाएर गएका थिए । सोही क्रममा कात्तिक २ गते साँझ ७ बजे लु १ क ५७८० नम्बरको ट्रकको ठक्करबाट पकडीमै बालिकाको मृत्यु भएको थियो ।

घटनाको जानकारी नभएका उनीहरु कात्तिक ८ गते मात्र फर्केपछि घटनाबारे जानकारी पाएका थिए । सोही क्रममा घरबेटीका छोरा पिन्टु तेलीले मृतक आफ्नी श्रीमती भएको भन्दै प्रहरीमा जाहेरी दिए । प्रहरीले थप अनुसन्धान नै नगरी सिधै शव पिन्टुलाई जिम्मा लगाए । पिन्टुले मृतको शव के गरे भन्ने अझै नखुलेको मृतकका बाबु हरिषचन्द्रले बताए ।

“मेरो छोरीको विवाह नै भएको थिएन, प्रहरीले नक्कली अभिभावक खडा गराएर दुखः दिएका छ” उनले भने । सवारी र्दुघटनाको क्षतिपूर्ति पाउने लोभमा पिन्टु तेलीले नक्कली श्रीमान बनेको स्थानीय बताउँछन् ।

गैरजिम्मेवार प्रहरी 

सवारी दुर्घटनामा मृतकको पहिचान राम्ररी गरेर मात्र पोष्टमार्टम जाहेरी लिने र शव परिवारलाई बुझाउने कार्य प्रहरीको हो । तर कपिलवस्तु प्रहरीले हतार हतारमा शव जिम्मा लगाएको देखिन्छ ।

नाता खुल्ने कुनैपनि कागजात बिना जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सन्तोष आचार्यको ठाडो निर्देशनमा मृतकको श्रीमान दाबी गरिरहेका पिन्टुलाई प्रहरीले बालिकाको शव दिएको प्रहरी स्रोत बताउँछ ।

“श्रीमान दाबी गर्ने पिन्टुसँग नाता खुल्ने कुनै पनि कागज थिएन, माथिबाट दबाब आयो र बुझाइयो, ” एक प्रहरीले भने ।

त्यस्तो अवस्थमा प्रहरीले गाउँलेहरुसँग सनाखत गर्ने वा मृतक विवाहित भए उनका माइती पक्ष लगायतसँग समन्वय गर्नुपर्ने भए पनि त्यसो समेत नगरेको देखिन्छ ।

यता मृतक बालिकका बाबुआमाले प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकबाट समेत जाहेरी दिएका थिए तर प्रहरीले त्यो पनि दर्ता नगरेको र प्रत्यक्ष जाँदा समेत कुनै सुनुवाई नगरेको दुखेसो पोखे ।

“मेरी छोरीको लास कहाँ छ, जलाइदिए कि गाडीसके या फालिदिए ?, अन्तिम पटक हेर्न पाए हुन्थ्यो ” रुँदै आमाले भनिन् । तर प्रहरी भने यसबारे केही बोल्न चाँहदैन ।

मुद्दालाई प्रत्यक्ष हेरिरहेका प्रहरी नायब निरीक्षक सुशील केसीले शव श्रीमानलाई बुझाएको दाबी गरे तर आवश्यक प्रमाण खुल्ने कागज भने नरहेको स्वीकारे ।