
लन्डन, १८ कात्तिक । नेपाल रन यूकेले आयोजना गरेको नर्थल्ट १०के रन (दौड)मा करिब ५ सय धावकले सहभागिता जनाएका छन् ।
२ नोभेम्बर आइतबार नर्थल्ट फील्ड्स पार्कमा आयोजना भएको दौड हेल्प नेपाल र जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको कार्यक्रममा सबै विजेताहरूलाई ट्रफी तथा सबै सहभागीहरूलाई टीसर्ट र पदक वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय सांसद जेम्स मरे र नेपाल दूतावासका उपमुख्य प्रतिनिधि विपिन दवाडीको आतिथ्यता रहेको थियो ।
नेपाल रन यूकेका डा. जगन कार्कीका अनुसार यो वार्षिक कार्यक्रम संस्थाको प्रमुख आकर्षण बनेको छ, जसले समुदायमा एकता, स्वास्थ्य र फिटनेसप्रतिको चेतना फैलाउन सहयोग पुर्याएको छ ।
कार्यक्रमको सञ्चालन समिता आलेले गरेकी थिइन् भने कोच आत्माराम दहालले धावकहरूलाई दौड अघि वार्मअप एक्सरसाइज गराएका थिए । गोरखाली सेनाका पाइपर प्रताप गुरुङको पाइपर धुन र दहालको शंख ध्वनिबाट दौड सुरु गरिएको थियो । स्वयम्भूको स्तूपा र नेपाली ध्वजाले सजाइएको पार्कमा नेपाली खाना सर्व गरिएको थियो । साथै, नेपालमै बनेका ट्रफी र टीसर्ट प्रयोग गरी नेपाली पन झल्काइएको थियो ।

दौडमा पुरुषतर्फ इलियास अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ३४ मिनेट १ सेकेन्डको समयमा दूरी पूरा गरी पहिलो स्थान हासिल गरे । सन्देश राई ३४ मिनेट ५३ सेकेन्डमा दोस्रो र ट्वेलर ब्वक्याम्बे ३५ मिनेट १३ सेकेन्डमा तेस्रो भए ।
यसैगरी, महिलातर्फ फ्रान्सेस्का बुटीले ४० मिनेट २ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हात पारिन् । सराह ह्यारिस ४३ मिनेट १० सेकेन्डमा दोस्रो र तेज माया रेग्मी सिग्देल ४५ मिनेट ५१ सेकेन्डमा तेस्रो स्थानमा रहिन् ।
४० देखि ४९ वर्ष उमेर समूहको भेट्रानतर्फ पुरुषमा सेलिमेंट बर्थेटले ३७ मिनेट ४९ सेकेन्डमा पहिलो भए । बलदेव कुँवर ३८ मिनेट २३ सेकेन्डमा दोस्रो र नाइजल रिबेरियो ४० मिनेट ९ सेकेन्डमा तेस्रो भए । महिला भेट्रानमा मनिषा लिम्बु ४९ मिनेट २५ सेकेन्डमा पहिलो, क्लारी मोरिस ४९ मिनेट ३८ सेकेन्डमा दोस्रो र होमा देवी पुन ५० मिनेट २९ सेकेन्डमा तेस्रो भइन् ।
त्यसैगरी, ५० देखि ५९ वर्ष उमेर समूहमा पुरुषतर्फ लक्ष्मण गुरुङले ३९ मिनेट २३ सेकेन्डमा पहिलो स्थान हासिल गरे । पदम कुँवर ३९ मिनेट २५ सेकेन्डमा दोस्रो र अमृत श्रेष्ठ ४१ मिनेट २ सेकेन्डमा तेस्रो भए । महिला भेट्रानमा रेबेका क्नाइट ४६ मिनेट ५८ सेकेन्डमा पहिलो, भेनेसा पल ५२ मिनेट ३४ सेकेन्डमा दोस्रो र रेचल फोर्ड ५३ मिनेट ३७ सेकेन्डमा तेस्रो भइन् ।
६० वर्ष माथिको सुपर भेट्रान वर्गमा महिला जेनिफर हडसनले ५५ मिनेट १५ सेकेन्डमा पहिलो स्थान हात पारिन् भने पुरुषमा मार्टिन देओड विजेता बने ।
नेपाल रन क्लबअन्तर्गत महिलातर्फ सलिना राजभण्डारीले ५१ मिनेट ५० सेकेन्डमा र पुरुषतर्फ शिव गुरुङले ४२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरे । क्लबका नियमित दौड गतिविधिमा उत्कृष्ट प्रगति गर्ने धावकको रूपमा पुस्कर नेपाललाई सम्मान गरिएको थियो ।
रनको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूके थियो । साथै, रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टेन्ट्स, एनआरएनए यूके, भोजपुर समाज यूके, मोमो हाउस ३६५ लगायतका संस्थाहरूले सहयोग गरेका थिए । सहप्रायोजकमा एसएनपी प्लस अकाउन्टिङ, किरात राई यायोक्खा यूके, राजन लामिछाने, सरोज थेरापी, शिवम कन्स्ट्रक्सन, भिष्म कन्स्ट्रक्सन, गोर्खा किचेन रहेका थिए भने कार्यक्रम सहयोगीमा एनबिसी यूके र चित्र गुरुङ रहेका थिए ।
नेपाल रन यूकेका प्रमुख कोच सन्तोष राईले सबै प्रायोजक र सहयोगीहरूलाई धन्यवाद दिँदै सहभागीहरूलाई दौडका दिन ख्याल गर्नुपर्ने पक्षबारे जानकारी दिएका थिए । संस्थापक तथा सचिव जगन कार्कीले कार्यक्रमको मुख्य उद्देश्य समुदायमा स्वास्थ्य सचेतना जगाउने, नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने र बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लाको हाइ अल्टिच्युड ट्रेनिङ क्याम्प निर्माणमा सहयोग पुर्याउने रहेको बताए ।
१० के मुख्य दौड सुरु हुनुअघि बालबालिकाको २ के फन रन पनि आयोजना गरिएको थियो ।









प्रतिक्रिया