काठमाडौं, १७ कार्तिक । जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी अधिकारीहरूको विवरण नपठाएपछि जाँचबुझ आयोगले प्रमुख प्रहरी अधिकृतहरूलाई स्थानहद तोकेको छ।
स्थानहदमा परेकामध्ये उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी, सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुर प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, र भक्तपुर प्रमुख एसपी माधव बुढाथोकी छन्।
त्यस्तै, फिल्ड र अपरेशन कमाण्डरहरू डीएसपी सुन्दर तिवारी, डीएसपी हेमन्त भण्डारी क्षेत्री, डीएसपी ढुण्डीराज न्यौपाने, डीएसपी एलिजा गिरी, र नगर प्रहरी प्रमुख मन्जिल मुकारुङ पनि स्थानहदमा परेका छन्।
वृत्त स्तरमा डीएसपी जयश्वर रिमाल (बौद्ध), सुकदेव खनाल (गौशाला), राजकुमार श्रेष्ठ (दरबारमार्ग), ज्ञानबहादुर विष्ट (बालाजु), कृष्णकुमार चन्द (जनसेवा), रमेशकुमार पाल (जगाते), रामकुमार यादव (सातदोबाटो), दीपकसिंह भाट (स्वयंभु), राजबाबु महर्जन (कीर्तिपुर), र यमकुमार श्रेष्ठ (चापागाउँ) ले पनि उपत्यका छोड्न नपाउने भएका छन्।
आयोगका अनुसार नेपाल प्रहरीले पटक–पटक ताकेता गर्दा पनि खटिएका कर्मचारीहरूको नामावली नपठाएपछि आयोगले यो निर्णय गर्न बाध्य भएको हो।
आयोगले प्रहरी प्रधान कार्यालयलाई बारम्बार पत्राचार गरेर आन्दोलनका बेला ड्युटीमा रहेका जवानदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) तहका कर्मचारीहरूको सूची मागेको थियो। तर, प्रधान कार्यालयले “जवानदेखि एआईजीसम्म खटिएका थिए” भन्ने सामान्य विवरण मात्र दिएको र नाम उल्लेख नगरेकाले आयोगले कमाण्डरहरूलाई प्रत्यक्ष स्थानहद आदेश जारी गरेको हो।








प्रतिक्रिया