काठमाडौं, १७ कार्तिक । जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका खेलेका तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका नाइके तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको थप प्रमाण भेटिएको छ।
प्रहरी स्रोतका अनुसार नागरिकतामा उल्लेख गरिएका बुबा र तेन्जिनबीचको सम्बन्ध मिलेन। काठमाडौँ प्रहरी परिसरले आइतबार नागरिकतामा बुबा भनिएका कृष्णबहादुर लामालाई बोलाएर सामना गराएको थियो। तर तेन्जिनले तिनै व्यक्तिलाई ‘चिन्दिन’ भनेका थिए, र ती व्यक्तिले पनि तेन्जिनलाई ‘पहिचान गर्न नसकेको’ बयान दिएका छन्।
नागरिकतामा हजुरबुबाको नाम तेन्जिङ लामा र बुबाको नाम कृष्णबहादुर लामा उल्लेख छ। तेन्जिनले काठमाडौँ महानगरपालिका–६ ठेगाना भएको जन्मदर्ता र २०७९ साल असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्राप्त नागरिकता प्रहरीलाई बुझाएका छन्।
तर प्रहरीले विवरण जाँच्दा जन्मदर्ता २०६३ चैत १० मा गरिएको देखिए पनि वडा कार्यालयले त्यस्तो दर्ता नपाइएको जवाफ दिएको छ।
यसअघि अभद्र व्यवहारको आरोपमा मात्र अनुसन्धान भइरहेका तेन्जिनमाथि अहिले लागुऔषध र लिखत कीर्तेको मुद्दा थपिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया