२९ जेष्ठ २०८३, शुक्रबार

नेपालगन्जमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम शुभारम्भ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । बाँकेको नेपालगन्जमा ‘फिफा फुटबल फर स्कुल’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ । सोमबार (कात्तिक १७) नेपालगन्जमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो ।

परियोजनाको शुभारम्भ गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले फुटबलका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।

“हामी निकै खुसी छौँ । फिफाको अवधारणाअनुसार यो कार्यक्रम एक हजारभन्दा धेरै विद्यालयमा पुगिसकेको छ । नेपालगन्जमा आयोजना गरिएको यो कार्यक्रमले समाजलाई एकताको सूत्रमा बाँध्न फुटबलले सहयोग गर्छ भन्ने देखाएको छ,” उनले भने ।

उनले अगडि भने, “फुटबलले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयवासीलाई म अनुरोध गर्दछु ।”

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बाँकेमा जिल्ला फुटबल संघले गरिरहेको गतिविधिबाट आफू निकै प्रभावित भएको बताए । उनले भने, “यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो । यसमा हामी सहकार्य गर्नेछौँ ।”

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले यो परियोजनाले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।