
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अधिवक्ता खतिवडाले रिटमा पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति अहिलेको संविधानले प्रधानमन्त्री बन्न नमिल्ने उल्लेख गरेका छन् । साथै, राष्ट्रपति पौडेलले संविधानको पालना नगरेको, अहिलेको यो अवस्थामा नेपाली सेना पनि जिम्मेवार रहेको, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई समेत रिटमा विपक्षी बनाइएको छ । अहिलेको संविधान मान्ने हो भने पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री हुन पाउँदैनन्, संविधानको धारा ८० अन्तर्गत सपथ पनि खाने र यो छट्टै परिस्थितिमा सरकार गठन भएको भन्नु एकअर्कामा विरोधाभास भएको उनको भनाइ छ।
राष्ट्रपतिबाट गत भदौ २७ मा प्रधानमन्त्रीमा नियुक्त भई धारा ८० बमोजिम सपथ लिएकी सुशीला कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६ र १३२ (२)को समेत ठाडो उल्लंघन भएकाले बदरभागी भएको रिट निवेदनमा उल्लेख छ ।








प्रतिक्रिया