
काठमाडौं, १५ कात्तिक । ११ औं महाधिवेशनको तयारीबारे औपचारिक छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मंसिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औं महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिर्पोटिङ हुनेछ ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिर्पोटिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिने सम्भावना छ ।
बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, प्रतिनिधि छनौटको आधार लगायतका विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् ।
बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।









प्रतिक्रिया