
काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता, कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन सबैलाई आग्रह गरेका हुन् । अध्यक्ष ओलीले लेखेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्, यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि काँधमा काँध मिलाएर अघि बढौँ– देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ ।’
अध्यक्ष ओलीले एमालेलाई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको ‘विशाल परिवार’का रूपमा चित्रण गर्दै तीन पुस्ताले आफ्नो जीवनको उज्याला क्षण समर्पण गरेर बनाएको घरका रूपमा स्मरण गरेका छन् । उनले लेखेका छन्, ‘यो केवल एउटा राजनीतिक संगठन मात्र होइन– यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्, कसैले जेलयातना भोगे, कतिले बलिदान दिए, कतिले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे ।’
अध्यक्ष ओलीले अहिले देशमाथि ‘महाविनाश निम्त्याउने खालको चुनौती’ खडा भएको बताउँदै लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बताए । उनले यस्तो संवेदनशील अवस्थामा मौन बस्नु राष्ट्रघात हुने उल्लेख गर्दै सबै देशभक्त, लोकतन्त्रप्रेमी र वामपन्थी शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा उभिन आग्रह गरेका छन् ।
‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ,’ अध्यक्ष ओलीको भनाइ छ, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौँ, राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’
अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न एमालेले विगतमा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै सामाजिक सुरक्षा, विकास संरचना र लोककल्याणकारी राज्यको सुरुवात एमालेले नै गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले सबैलाई पार्टीमा फर्केर निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न अपिल गर्दै भनेका छन्, ‘कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा– हाम्रो साझा सपना साकार पार्न, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।’
एमाले अध्यक्षको यो वक्तव्यले हाल वामपन्थी एकता, विशेष गरी नेकपा एकीकृत समाजवादीसँग पुनर्मिलनबारे चलिरहेको राजनीतिक बहसको सन्दर्भमा नयाँ तरङ्ग ल्याएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
यस्तो छ ओलीको अपिलः
दिदीबहिनी तथा दाजुभाइहरु,
कमरेडहरु !
निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्।
एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —
जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।
हामी एउटै परिवार हौं —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली।
म सबैमा आह्वान गर्न चाहन्छु –
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।









प्रतिक्रिया