
काठमाडौं, १४ कात्तिक । र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ आउने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो ।
शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला समेत गरिएको जानकारी गराइएको छ । देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागि आफ्नो प्रस्तुति अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपालीर्याप डटकमबाट आवेदन दिन सकिने भएको छ । साथै, सहभागीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन् ।
नेपहपको श्रीपेच सिजन ३ को विजेताले नेपाली र्यापको सर्वोच्च उपाधिको प्रतिक प्रतिष्ठित श्रीपेच क्राउनसँगै नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उपविजेताले आफ्नो उत्कृष्ट प्रदर्शनको कदर स्वरूप ५ लाख रुपैयाँ पाउनेछन् । यो सिजनमा दुई हिपहप हस्ती गिरीश खतिवडा र मानष घले निर्णायकको रूपमा प्रस्तुत हुनेछन् । तेस्रो निर्णायक र प्रसारण साझेदारको बारेमा भने खुलासा भएको छैन् ।
नेपहपको श्रीपेच नेपालको प्रमुख र्याप रियालिटी शो हो । जसले नेपाली हिपहपको संस्कृति, रचनात्मकता र समुदायको सम्मान गर्दछ । आफ्नो सुरुवातदेखि नै यस शोले राष्ट्रका केही सबैभन्दा प्रतिभाशाली पत्ता लगाएको छ र प्रवर्द्धन गरेको छ, जसले हिपहपलाई नेपालको मनोरञ्जन उद्योगको केन्द्रमा पुर्याएको छ ।








प्रतिक्रिया