
काठमाडौं, १४ कात्तिक । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्य नै गैरकानुनी र राज्य कोषको रकम दुरुपयोग गर्ने अपराधी भएको बताएका छन् ।
कञ्चनपुरमा जेनजी आन्दोलनको नाममा भएको क्षतिको अनुगमन गर्न पुगेका आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई रावलले सार्वजनिक स्थानमा नै राज्य कोषको दुरुपयोग गर्ने अपराधी भएको बताए । भीमदत्त नगरपालिकामा आयोजना गरिएको सर्वदलीय बैठकस्थलमा पुगेका रावलले भण्डारीलाई अपराधीहरूलाई लुकाउने अपराधी भएको बताए ।
‘तपाईं को हो ? पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जनाउने, अपराधीहरूलाई कारबाही नगर्ने ?’ भन्दै रावलले प्रश्न गरे ।
रावलको प्रश्नमा भण्डारीले ‘मैले हो तपाईंको घर डढाएको ?’ भन्दै प्रतिप्रश्न गरेपछि रावल थप आक्रोशित भए ।

‘तपाईं हो, बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाको के हालत देख्नु भएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भन्दै रावलले प्रश्न गरे । जेनजी आन्दोलनको नाममा अराजक समूहले पूर्वमुख्यमन्त्री रावलको घरमा पनि आगो लगाएको थियो ।
‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तमासा देख्नु भएको थियो यहाँ ? अहिले राज्यको तर्फबाट बडो नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो, यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको तपाईंहरू, यो नगर्नुस्’, रावलले भने ।
गरैरकानुनी मान्छेहरू आयोगको नाममा राज्यको कोष दुरुपयोग गर्न आएका रावलले बताउनुभयो । ‘तपाईं जनविरोधी मान्छेहरू हो, जनताको घरमा आगो लगाउने, सकारी कार्यालयमा आगो लगाउने, अनि बढ्ता यहाँ गर्ने ?’, रावलले सार्वजनिक रूपमा नै भण्डारीलाई हप्काए ।
रावलको प्रतिक्रिया पछि सर्वदलीय बैठक नै बिथोलिएको थियो । एमालेका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेका थिए ।
कांग्रेसका जिल्ला सभापति समेत रहेका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी पनि बैठकमा अनुपस्थित थिए । कार्यक्रम सुरु नै नभई माहौल बिग्रिएपछि केही जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरेर भण्डारी उठेका थिए ।








प्रतिक्रिया