९ श्रावण २०८३, शनिबार

एमालेमा ओलीको विकल्प ओली हो, महाधिवेशनमै नेतृत्व छान्ने अधिकार कार्यकर्तालाई : भानुभक्त ढकाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १४ कात्तिक । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्वको बहसमा अल्झिनुको सट्टा पार्टीलाई एकजुट राख्नुपर्नेमा उनले जोड दिए ।

बिहीबार आफ्नो गृहजिल्ला तेह्रथुममा एमाले जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ढकालले पार्टीले महाधिवेशनको मिति तय गरिसकेकाले नेतृत्वसम्बन्धी सबै बहस महाधिवेशनमै हुने स्पष्ट पारे । नेतृत्वमा आउन चाहानेका लागि महाधिवेशन नै उपयुक्त अवसर हुने र त्यसको बाटो खुला रहेको उनले बताए ।

नेता ढकालले अन्य पार्टीहरूले एमालेको चिन्ता नगरी आफ्नै पार्टी सम्हाल्नुमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । कार्यकर्ताको मत लिन नसक्ने बाह्य वातावरण बनाएर अन्य पार्टीले अर्को पार्टीका नेता तोक्ने खालको लोकतन्त्रमा एमालेले विश्वास नगर्ने उनको भनाइ थियो ।

‘कतिपय पार्टीका नेता साथीहरू फलानो व्यक्ति नेतृत्वमा आउनुहुँदैन भन्छन् । के उहाँहरूलाई ठेक्का परेको छ र ? अरू दलले दिएको छ ?’ नेता ढकालले प्रश्न गर्दै भने, ‘कांग्रेस, माओवादी अथवा समाजवादीका मान्छेले एमालेका नेता छान्दिने हो र ? एमालेको नेता छान्ने अधिकार एमालेको अधिकार प्राप्त सदस्यहरूमा मात्र निहित छ । सदस्यहरूले चुनेको नेता दोहोरिने र चुनेनन् भने जसलाई म्यानडेट दिन्छन् त्यही व्यक्तिले नेतृत्व गर्नेछन् ।’

पार्टी भित्र र बाहिर उठेका विभिन्न प्रश्नहरूको यथोचित जवाफ दिनका लागि पनि महाधिवेशनको मञ्च नै उपयुक्त ठानेर महाधिवेशन मिति तय गरिएको नेता ढकालले बताए । कार्यकर्ताको म्यानडेट नै मूल कुरा भएकाले नेतृत्वको छिनोफानो महाधिवेशनमै हुने उनले स्पष्ट पारे ।

‘पार्टीले महाधिवेशन घोषणा गरिसकेको छ । नेतृत्व आउन चाहानेका लागि अवसर हुन्छ नै, बाटो खुला नै छ । महाधिवेशन नै उपयुक्त विकल्प हो,’ ढकालले भने ।

साथै, प्रेस चौतारी नेपाल तेह्रथुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले जेनजी आन्दोलनको घटनाक्रमसँगै पार्टीले गम्भीर समीक्षा गरेको बताए । पार्टी फोरमहरूमा यस विषयमा गहन छलफल भएको र कमजोरीहरूबारे समीक्षा भएको उनले बताए ।

पार्टी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्षको तर्फबाट १५ बुँदे राजनीतिक प्रस्तावहरू राखिएको र समसामयिक प्रस्तावहरू पास गरिएको उनले बताए । पार्टीबाट भएका कमीकमजोरीबारे वस्तुनिष्ठ समीक्षा गरिएको पनि उनको भनाइ थियो ।

यसैगरी, नेता ढकालले २०४६ सालको परिवर्तनपछि सार्वजनिक पदमा पुगेका र निजामती क्षेत्रमा काम गरेका सबै व्यक्तिहरूको सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताए । जनताको कसीमा ती व्यक्तिहरूले आफूलाई पास गर्नुपर्ने ढकालले बताए ।

अनियमितामा संलग्न जोकोही व्यक्तिहरू भए पनि त्यसमाथि निर्ममतापूर्वक कारबाही गरिनुपर्ने विषयमा पार्टीले निरन्तर माग गर्दै आएको र त्यसमा दृढतापूर्वक उभिदै आएको उनले बताए । उनले पार्टीले सरकारमा रहँदा पनि मन्त्रीहरूको विषयमा प्रश्न उठ्नेबित्तिकै प्रमाणित नभए पनि तिनलाई जिम्मेवारीबाट मुक्त गर्दै आएको स्मरण गराए ।

जेनजी आन्दोलन हाइज्याक भयो

जेनहरूको पवित्र मागहरूमा घुसपैठ भई आन्दोलनलाई हाइज्याक गर्ने काम भएको नेता ढकालले टिप्पणी गरे । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि परिस्थिति ठिक ठाउँमा आउने भनेर सुरक्षा निकाय लगायतले सिफारिस गरे तापनि प्रधानमन्त्रीको राजीनामापछि पनि तोडफोड र आगजनीका घटना अझ बढी भएको उनले बताए ।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि सिंहदरबार नै जलाइएको घटनाले आन्दोलनको वास्तविक उद्देश्य अर्कै रहेको प्रमाणित भएको उनको भनाइ थियो ।

नेता ढकालले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाए । अहिलेसम्म २४० वर्षसम्म नेपाली सेनाको भूमिकाबारे कहिल्यै प्रश्न उठेको थिएन । राजतन्त्र ढलेर संघीय गणतन्त्र स्थापना हुँदा पनि सेनाको भूमिकाबारे कुनै प्रश्न उठेको थिएन तर आज सेनाको परमाधिपति राष्ट्रपतिको निवासमा नै सुरक्षा गर्न नसक्ने अवस्थामा सेना कसरी पुग्यो भन्ने गम्भीर प्रश्न उठेको उनले बताए ।

व्यक्तिका घरहरू, पार्टीका कार्यालयहरू र सरकारी भवनहरू जलाइएको घटनाक्रम उल्लेख गर्दै उनले भने, ‘राज्यको सामरिक महत्व राख्ने सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास जलाइएका छन् ।’ यस्ता महत्वपूर्ण संस्थाहरूको सुरक्षा गर्न नसक्ने अवस्थामा हामी पुग्यौँ या पुर्‍याइयौँ भन्ने खालका प्रश्नहरू अनुत्तरित रहेको र यस्ता विषयहरूले सबैलाई अलि बढी उत्तेजित बनाएको उनले बताए ।

उनले पछिल्लो घटनाक्रमले राष्ट्र, राष्ट्रियता र संविधान कायम रहन्छ कि रहँदैन भन्ने गम्भीर स्थिति सिर्जना भएको पनि बताए । यस्तो अवस्थामा दलीय आँखाबाट भन्दा पनि मुलुकको राष्ट्र र राष्ट्रियतासँग जोडिएर हेर्नुपर्नेमा उनले जोड दिए ।

Skip This