२५ असार २०८३, बिहिबार

भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’ (भिडिओसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १३ कात्तिक । कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ ।

उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ ।

अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

कार्यक्रममा बोल्दै उनी केही आक्रोशित बनेका थिए । सोही क्रममा उनी भुइँमा ढलेका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्दा आक्रोशित बनेका थिए । सोही क्रममा उनको बोली लरबरिएको थियो । यस क्रममा उनले ‘अतः यो कारणले’ भन्ने शब्द प्रयोग गरेका थिए ।

प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा प्रतिनिधित्व गरेका थिए ।

६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । गौतम हृदयघात भएर ढलेका थिए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत थिए ।