
काठमाडौं, १३ कात्तिक । श्रममन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो ।
गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । सुनारको बयान ३ नम्बर न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा जारी रहेको र आजै थुनछेक बहस हुने जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षयकुमार दनुवारले जानकारी दिए । थुनछेक बहसपछि अदालतले साधारण तारेख, धरौटीमा रिहा गर्न वा थुनामा पठाउन आदेश दिनेछ ।








प्रतिक्रिया