
जनकपुर, १३ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।
हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ ।
मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थसहित ३ मन्त्रालय भागबण्डा हुने निश्चित देखिएको छ ।
यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानीसहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने चर्चा चलिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले पनि एक मन्त्रालय पाउने निश्चित छ ।
मधेश प्रदेशमा कुल १ सय ७ जना प्रदेश सांसद रहेका छन् । मुख्यमन्त्री सोनलले ५७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । सरकार गठनका लागि कम्तीमा ५४ जना सदस्यको समर्थन चाहिन्छ ।
विभाजित जनमतका सतीश कुमार सिंह र त्रिभुवन साहले सरकारलाई विश्वासको मत नदिएमा १/१ जना सांसद रहेको दलहरुसँग पनि विश्वासको मत लिनका लागि मुख्यमन्त्री सोनलले छलफल गरिरहेका छन् ।








प्रतिक्रिया