
काठमाडौं, १२ कात्तिक । नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले साफ क्लब च्याम्पियनसिप बंगलादेशी क्लबबाट खेल्ने भएकी छन् । उनलाई बंगलादेशको नासरिन स्पोट्र्स एकेडेमीले अनुबन्ध गरेको हो ।
यससँगै उनी बंगलादेशी महिला फुटबल इतिहासमै पहिलो विदेशी खेलाडी बनेकी छन् । नासरिन स्पोट्र्स एकेडेमीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । एकेडेमीले लेखेको छ,‘पूजा राना अब नासरिन स्पोट्र्स एकेडेमीको हिस्सा बनेकी छन् । यो बंगलादेशी महिला फुटबल इतिहासकै पहिलो विदेशी साइनिङ हो ।’
उनी पछिल्लो समय भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेकी थिइन् । तर, उक्त क्लबसँग सम्झौता सकिसकेको छ । त्यसैले बंगलादेशी क्लबसँग खेल्ने बाटो खुलेको हो ।
प्रतियोगिताको पहिलो संस्करण डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यसअघि नै तय भइसकेको छ । प्रतियोगितामा नासरिनबाहेक नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, र पाकिस्तानको कराँची सिटी एफसी सहभागी हुनेछन् ।








प्रतिक्रिया