
काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमाडौं गोर्खाजले एनपीएलको दोस्रो संस्करणमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसलाई निरन्तरता दिएको छ ।
बुधबार काठमाडौं गोर्खाजले इरास्मसलाई एनपीएलको दोस्रो संस्करणमा पनि भित्र्याएको जनाएको हो । उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन् । इरास्मसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।
सन् २०२४ को पुरुष एसोसिएट ’क्रिकेटर अफ द इयर’ हुने क्रममा इरास्मसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।
त्यस्तै, उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए । इरास्मसले वर्ष २०२४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए ।
इरास्मसले एनपीएलको पहिलो संस्करणमा काठमाडौं गोर्खाजको उपकप्तानको जिम्मेवारी सम्हालेका उनले सात खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए ।
काठमाडौं गोर्खाजले आउँदो सिजनको एनपीएलका लागि भित्र्याइएका उनी दोस्रो विदेशी खेलाडी हुन् ।








प्रतिक्रिया