३२ असार २०८३, बिहिबार

यस वर्षको गीतकार सम्मान आरजुलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ कात्तिक । यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ ।

गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारणसभाको अवसर पारेर कात्तिक १५ गते शनिबार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले अनुमोदन गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । उनी रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत छन् ।

‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बम समेत बजारमा ल्याइसकेका विष्टका जित मात्रै कहाँ हो र …, झ्याम्म झ्याम्म…, ठोकिँदा ठोकाइमा.., लौ आयो भलिबल, आहा रारा गोल्डकपमा… लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् । यसअघि उनी गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, विन्दवासिनी राष्ट्रिय सङ्गीत पत्रकारिता पुरस्कार, राप्ती राष्ट्रिय म्युजिक पुरस्कार लगायतबाट पुरस्कृत भएका छन् ।

गीत लेखनका क्षेत्रमा योगदान पुर्‍याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअघि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ले प्राप्त गरिसकेका छन् ।