
काठमाडौं, ११ कात्तिक । जेनजी आन्दोलनसँगै विकसित घटनाक्रममा अदृश्य रहेर अन्तरिम सरकार गठनमा भूमिका खेलेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लबिङ थालेका छन् ।
अन्तरिम सरकार गठनपछि हालै दोस्रोपटक एक्लै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका बालेनले गृहमन्त्री अर्याललाई बिदाई गरेर अर्का व्यक्तिलाई ल्याउनेबारेमा छलफल गरेको स्रोतको दाबी छ । साथै, यसले अन्तरिम सरकारभित्र शक्ति संघर्ष सुरु भइसकेको र नयाँ तनाव सिर्जना गरेको बुझिएको छ ।
सरकारप्रति असन्तुष्टि देखिँदै आएका बालेनले प्रधानमन्त्री कार्कीसँगको दोस्रो भेटमा गृहमन्त्री अर्यालको कार्यशैली निकै कमजोर रहेको कडा टिप्पणी गरेका हुन् ।
अर्यालसँग बालेनको असन्तुष्टिसँगै उनको पद भविष्य अनिश्चिततर्फ धकेलिएको टिप्पण सुरु भएको छ र यदि बालेनको लबिङ सफल भयो भने अन्तरिम सरकारमा ठूलो फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।
विगतमा बालेनकै पहलमा महानगरको कानुनी सल्लाहकार बनेका अर्याललाई पछि मन्त्री बनाइएको चर्चा भए पनि स्रोतका अनुसार कार्कीकै पहलमा अर्याल मन्त्री बनेका थिए । अर्याल आफैंले पनि आफू प्रधानमन्त्रीको सल्लाहकार मात्रै बन्न चाहेको तर परिस्थितिले मन्त्री बनाएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठकमा अर्यालकै योगदानका कारण आफू प्रधानमन्त्री बन्न सफल भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेपछि बालेनले आफूलाई उपेक्षित महसुस गरेको स्रोतको दाबी छ । जेनजी आन्दोलनमा बालेनको अदृश्य भूमिकालाई स्वीकार नगरिएको र यसको सट्टा अर्यालको योगदानलाई मात्र महत्त्व दिइएकाले बालेनको असन्तुष्टि बढेको राजनीतिक वृतमा चर्चा छ ।
यस्तै, बालेन–कार्की भेटका क्रममा जेनजी आन्दोलन पक्षबाट मन्त्रीको नाम सिफारिस भइसकेको तर नियुक्ति नभएको अवस्था थियो । सरकारले गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारका नाम अघि बढाउने तयारी गरिरहेको थियो । बालेनले विशेषगरी गणपतिलाल श्रेष्ठसँग महानगरका कतिपय काममा समन्वय नहुँदा समस्या देखिएको भन्दै विवादित पृष्ठभूमि भएका व्यक्तिबारे पुनः मूल्यांकन गर्न सुझाव दिएका थिए ।
यसैगरी, भेटमा बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने चेतावनी समेत दिएका थिए । तर प्रधानमन्त्री कार्कीले कानुनी प्रक्रिया, राजनीतिक सन्तुलन र आन्दोलनको भावनाबीच सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।








प्रतिक्रिया