१४ असार २०८३, आइतबार

दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिप – नेपाललाई २ रजत र ४ कास्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेपालले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा २ रजत र ४ कास्य पदक जितेको छ । आइतवार सम्पन्न च्याम्पियनसिपमा सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले दोहोरो पदक जितेका छन् ।

सोमले ८ सय मिटर दौडमा रजत र ४ गुणा ४ सय मिक्स रिले दौडमा कास्य पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड १ मिनेट ५२.०३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान पक्का गरेका हुन् । सन्तोषीले महिला १० हजार र ५ हजार मिटर दौड दुबैमा राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जितेकी हुन् ।

आइतवार १० हजार मिटर दौडमा सन्तोषीले ३४ मिनेट ४७.७७ सेकेन्डको राष्ट्रिय कीर्तिमान सहित तेस्रो स्थान प्राप्त गरेकी हुन् । सन्तोषीले कान्छीमाया कोजुको ३५.०३ मिनेटको कीर्तिमान तोडेकी हुन् ।

पहिलो दिन शुक्रवार सन्तोषीले ५ हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् । उनले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेकी हुन्। उनले कान्छीमाया कोजुको १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी छिन् ।

सन्तोषीले सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । राजन रोकायाले च्याम्पियनसिपको अन्तिम दिन पुरुष १० हजार मिटर दौडमा रजत पदक जितेका छन् । राजनले ३० मिनेट ३९.१५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएका हुन् ।

त्यस्तै च्याम्पियनसिपको पहिलो दिन मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कास्य पदक जितेका थिए । उनले १४ मिनेट २५.५४ सेकेन्डमा दौड पूरा गरेका हुन् । मिक्स रिलेमा कास्य पदक जित्ने टोलीमा सोमसहित रमिता कुमारी थारु, जयरानी थारु, राम प्रसाद थारु थिए । टोलीले ४ गुणा ४ सय रिले दौडमा ३ मिनेट ३७.१६ सेकेन्डमा दौड पूरा गर्दै पदक जितेको थियो । ३ दिन सम्म चलेको च्याम्पियनसिपमा नेपालका २६ खेलाडी सहभागी थिए ।