७ श्रावण २०८३, बिहिबार

इंग्लिस प्रिमियर लिगः चेल्सी र लिभरपुल स्तब्ध, युनाइटेड चौंथो स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, ९ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा बलिया क्लब चेल्सी र लिभरपुल तुलनात्मक रूपमा कमजोर टोली सन्डरल्यान्ड र ब्रेन्टफोर्डसँग पराजित भएका छन् । यद्यपि सन्डरल्यान्डले जारी सिजनमा नाटकीय प्रदर्शन गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी सन्डरल्यान्डसँग २–१ ले पराजित भयो भने ब्रेन्टफोर्डले लिभरपुललाई ३–२ ले हरायो । त्यसैगरी, म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि ४–२ को जित हात पा¥यो र न्युक्यासल युनाइटेडले फुलह्यामलाई २–१ ले पराजित ग¥यो ।

सन्डरल्यान्डका विङ्गर केम्सडिन तलाबीले इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाए । खेलको सुरुवाती चौथो मिनेटमै चेल्सीका अलेक्जान्द्रो गर्नाचोले गोल गर्दै अग्रता दिलाएका थिए, तर २२औं मिनेटमा विल्सन इसिडोरले सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए । जारी सिजनमा सन्डरल्यान्डको यो अवे मैदानमा दोस्रो जित हो । दोस्रो हाफमा ‘ब्ल्याक क्याट्स’ सचेत र संयमित देखिँदा चेल्सीले बराबरी गोलका लागि आक्रामक प्रयास गरे पनि सफल हुन सकेन ।
जितसँगै सन्डरल्यान्डले ९ खेलबाट १७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको आर्सनलसँग १९ अंक छ ।

उता, साविक च्याम्पियन लिभरपुलको हारको सिलसिला जारी छ । ब्रेन्टफोर्डले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुलमाथि ३–२ को जित निकाल्यो । खेलको पाँचौं मिनेटमा ड्यान्गो आउताराले ब्रेन्टफोर्डलाई अग्रता दिलाए । ४५औं मिनेटमा केभिन साडेले दोस्रो गोल थपे भने अतिरिक्त समयमा मिलोस केर्केजले लिभरपुलका लागि एक गोल फर्काए ।

दोस्रो हाफमा इगोर थियागोले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डलाई पुनः दुई गोलको अग्रता दिलाए । निर्धारित समयको अन्तिमतिर मोहम्मद सालाहले उत्कृष्ट फिनिशिङसहित गोल गरे पनि लिभरपुललाई हारबाट जोगाउन सकेन ।

यस पराजयसँगै लिभरपुल ९ खेलबाट १५ अंकसहित तालिकाको छैटौं स्थानमा पुगेको छ । पराजित चेल्सी भने ९ खेलबाट आठौं स्थानमा झरेको छ । अंक तालिकामा आर्सनल र सन्डरल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने म्यानचेस्टर सिटी तेस्रो र म्यानचेस्टर युनाइटेड चौथो स्थानमा रहेका छन् ।