
काठमाडौं, ७ कात्तिक । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ यात्रु गम्भीर घाइते भएका छन् । यो दुर्घटना शुक्रबार बिहान कर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै भएको हो । बसमा आगो लागेपछि त्यो पूर्ण रूपमा जलेर नष्ट भएको थियो । दुर्घटनाको समयमा बसमा करिब ४२ जना यात्रु सवार थिए ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । बीबीसी तेलुगुको रिपोर्टअनुसार, प्रारम्भिक जानकारीमा एउटा मोटरसाइकल बससँग ठोक्किएर त्यसको मुनि छिरेको र तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको आशंका गरिएको छ । यद्यपि, स्थानीय प्रशासनले यस कारणको आधिकारिक पुष्टि भने गरिसकेको छैन ।
मुख्यमन्त्री चन्द्रबाबु नायडूले सामाजिक सञ्जाल एक्समा लेख्दै कर्नूल दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘कर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै भएको भीषण बस आगलागी दुर्घटनाबारे थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। यस दुर्घटनामा आफ्ना प्रियजन गुमाउने परिवारप्रति मेरो गहिरो समवेदना छ । सरकारले घाइते र प्रभावित परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउनेछ ।’
कर्नूल रेन्जका डीआईजी कोया प्रवीणले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार, ‘दुई बालबालिका र दुई चालकसहित करिब १९ जना यात्रु यस दुर्घटनामा सुरक्षित छन् ।’ प्रहरीका अनुसार, सर्ट सर्किटको कारण बसको ढोका जाम भएको थियो, जसकारण यात्रुहरू बाहिर निस्कन सकेनन् । केही मिनेटमै बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । अधिकांश बाँच्न सफल यात्रुहरू २५ देखि ३५ वर्ष उमेर समूहका रहेको बताइएको छ ।








प्रतिक्रिया