३१ असार २०८३, बुधबार

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ७ कात्तिक । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्यौला मल उत्पादन थालेका छन् । महिलालाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । महिलालाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको हो ।

“महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भनिन्, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ महिला समूह गड्यौँला मल उत्पादनमा लाग्नुभएको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।”

यो कार्यक्रममा आबद्ध महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले जानकारी दिए ।

“रासायनिक मलको प्रयोग कम गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अग्र्यानिक उत्पादनमा जोड दिनु हो ।”

किसानले उत्पादन गरेको गड्यौला मल प्रतिकिलो २२ रुपैयाँमा गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाइएको छ । यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ ।