२५ जेष्ठ २०८३, सोमबार

लेख्न छाडिएका नेपाली वर्णमालाका अक्षर पुनस्र्थापित गर्न सिक्किम उच्च अदालतको आदेश

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ७ कात्तिक । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरुलाई पुनस्र्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरुको प्रयोग अनिवार्य गर्न सिक्किम उच्च अदालतले आदेश दिएको हो ।

पहिले नेपाली वर्णमालाका क, ख, ग पढाउने बेलामा ती अक्षरहरु पढाउने, लेखाउने गरिन्थ्यो । तर पछि आधुनिकतासँगै ‘ण’लाई ‘न’ले विस्थापित गरेको थियो । साथै तालब्य ‘श’को सट्टा दन्त्य ‘स’ लेख्ने गरिन्छ । यसैगरी ऋ अक्षरलाई ‘रि’ लेख्न थालिएको छ । यसैगरी अन्य अक्षरहरु पनि बोलीचालीको शैलीमा लेख्न र भन्न थालिएको छ ।

विद्यालय, विश्वविद्यालय, पत्रिका, साहित्यिक कतिपय किताबहरुमा यी अक्षरहरु प्रयोग हुन छाडिएपछि आफ्ना बालबालिकालाई नेपाली सिकाउने अभिभावक र शिक्षकहरुका के सही, के गलत भन्ने द्विविधा थियो ।

यसैबीचमा सिक्किम निवासी अवकाश प्राप्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार धनराज गुरूङले ७ अगस्त २०२५ को दिन सिक्किम उच्च अदालतमा रिट दायर गरेका थिए । गुरुङले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र सिक्किम राज्य सरकारलगायतलाई विपक्षी बनाएका थिए । उनले यी अक्षरहरु हटाइदिँदा भाषिक शुद्धता र पहिचानमा सिधा असर परिरहेकाले ती अक्षरहरुको प्रयोग अनिवार्य गर्न आदेशको माग गरेका थिए ।

सोही रिटमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाबाट हराउन लागेका नेपाली भाषाका अक्षरहरुलाई मौलिक पहिचानसहित फर्काउन र प्रयोग अनिवार्य गर्न आदेश दिएको छ ।

उच्च अदालतले आदेशमा भनेको छ– नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी छ । किनभने भाषा केबल सम्वादको रुपमा मात्र होइन, बरु पहिचान र संस्कृतिको आधार पनि हो ।

त्यसैले उच्च अदालतले लेख्न र पढ्न छाडिएका ती अक्षरहरु तत्काल प्रयोगमा ल्याउँदै त्यसको सही प्रयोग किताब र पाठ्यक्रमहरुमा सुनिश्चित गर्न भनेको छ ।

आदेश कार्यान्वयनका लागि नेपाली भाषाविज्ञ सहितको एक कमिटी पनि गठन गर्न उच्च अदालतले आदेश दिएको छ ।

सो आदेश अनुसार ६ जनाको विज्ञ समिति बनाइएको छ । समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोक साहित्य लेखक चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँदिल्लीका शंकरदेव प्रसाद ढकाल, एनबीबी डिग्री कलेजका एसिस्टेन्ट प्रोफेसर टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड बिजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली भाषा डिपार्टमेन्ट प्रमुख प्रोफेसर डाक्टर कविता लामा छन् ।

यो कमिटीलाई हरेक शिक्षण संस्थामा उच्च अदालतको यो आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ । साथै यदि कुनै संस्था वा लेखकले यी अक्षरहरुलाई बेवास्ता गरेको पाइएमा तिनका किताब शिक्षण संस्थामा नस्वीकार्न भनिएको छ ।

उच्च अदालतले लेखनमा सानो त्रुटिले पनि नेपाली भाषा शुद्धतामा असर गर्ने भएकाले नयाँ पिँढीका लागि यो आदेशको सही कार्यान्वयन जरुरी रहेको जनाएको छ ।

कतिपयले यो आदेश सिक्किममा मात्र सीमित नभएर सबै नेपाली भाषीको जितको रुपमा लिएका छन् भने कतिपयले आधुनिक नेपाली भाषा पढाइको अधिकारबाट बन्चित गरिएको भन्दै विरोध पनि गरेका छन् ।