
काठमाडा, ५ कात्तिक । मिरपुरको कालो पिचलाई लिएर धेरै आलोचना भइरहेका बेला बंगलादेश र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेलमा चार उल्लेखनीय कीर्तिमान बनेका छन् ।
वेस्ट इन्डिजले वनडे क्रिकेटको ५४ वर्षे इतिहासमा पहिलोपटक सम्पूर्ण ५० ओभर स्पिनरमार्फत बलिङ गराएको छ । यसअघि श्रीलंकाले तीनपटक ४४ ओभरसम्म स्पिन बलिङ गराएको थियो ।
यो बंगलादेशमा पनि पहिलोपटक एक इनिङ्समा सबैभन्दा बढी स्पिन बलिङ भएको हो । त्यति मात्र होइन, वेस्ट इन्डिजले आफ्नो वनडे इतिहासमै पहिलोपटक दुई प्रान्तबाट स्पिन बलिङ सुरु ग¥यो ।
टोलीमा रहेका दुई तीव्र गतिका बलर जस्टिन ग्रिभ्स र शेर्फान रदरफोर्डलाई एक ओभर पनि बलिङ गर्न दिइएन । टोलीले पाँच जना स्पिनरमार्फत नै पूरा इनिङ्स बलिङ ग¥यो ।
बंगलादेशविरुद्ध पार्टटाइम स्पिनरको रूपमा बलिङ गर्न आएका लिक आथानेजले पनि इतिहास रचे। उनले यसअघि वनडे करिअरमा जम्मा चार ओभर मात्र बलिङ गरेका थिए । तर, यस खेलमा उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन दिए र दुई विकेट लिए ।
यो बंगलादेशविरुद्ध १० ओभर बलिङ गरेर सबैभन्दा किफायती प्रदर्शन हो । यसअघि पाकिस्तानका मोहम्मद हफिजले १० ओभरमा १५ रन दिएका थिए ।
सुस्त ब्याटिङको इनिङ्सबीच रिशत हुसैनले आक्रमक खेल्दै अर्को कीर्तिमान बनाए । उनले १४ बलमा ३९ रन प्रहार गर्दै २७८.५७ को स्ट्राइक रेट कायम गरे, जुन वनडे इतिहासमा बंगलादेशका खेलाडीले ३० वा सोभन्दा बढी रनको इनिङ्समा बनाएको सबैभन्दा उच्च स्ट्राइक रेट हो ।
यसअघि यो कीर्तिमान मासरफे बिन मोर्तजा र शाकिब अल हसनका नाममा थियो। दुबैले १६ बलमा ४४ रन प्रहार गरेका थिए ।








प्रतिक्रिया