
काठमाडौं, ४ कात्तिक । गत वर्षको बडादशैंमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ ।
सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको यो चलचित्रलाई दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन् ।
चलचित्र ‘सिनेमाघर एप’मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ । साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा विराजसँगै समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्रको कथा स्वयं विराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन् । द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन् ।
ओटीटी प्लेटफर्म सिनेमाघरमा अहिले चलचित्रहरू पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो, फेरि रेशम फिलिली लगायतका चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन् ।









प्रतिक्रिया