
काठमाडौं, २ कात्तिक । निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ । आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन् । उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रालि ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।
ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्ममा सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ ।
फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलोपटक पर्दा सेयर गर्ने भएका छन् । उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ । यस फिल्मलाई ब्रजेश खनालले लेखेका छन् । निर्माता धिरजकुमार अग्रवाल हुन् भने सहनिर्मातामा अञ्जली चौधरी रहेकी छन् । छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सहनिर्देशन ललित विष्टको जिम्मामा हुनेछ ।
फिल्ममा संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुने छ । फिल्मको प्रचारप्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन् ।
निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ भने डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया