१४ असार २०८३, आइतबार

हङकङ सिक्सेसपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । शरद भेषावकरले हङकङ सिक्सेसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले आज शरदको कप्तानीमा हङकङमा हुने हङकङ सिक्सेस खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । शरदले उक्त प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने क्यानले जनाएको छ ।

शरद सन् २०२२ यता राष्ट्रिय टोलीमा परेका छैनन् । तर, सन्यास पनि लिएका थिएनन् । उनले पछिल्लोपटक गतवर्ष भएको नेपाल प्रीमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेलेका थिए । यसपटक भने उनी कुनै टोलीमा पनि बिक्री भएनन् । शरद नेपालले पहिलोपटक सन् २०१४ मा विश्वकप खेल्दा टोलीको सदस्य थिए ।

हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुनेछ । नेपालले दोस्रोपटक यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । टोलीमा शरदसहित आदिल आलम, सन्दीप जोरा, रसिद खान, लोकेश बम, बसिर अहमद र रुपेश सिंह छन् ।

आदिल, सन्दीप र लोकेशले भर्खरै सकिएको टी(२० विश्वकप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।