२८ आश्विन २०८३, बुधबार

पुष्प मेला : शनिबारसम्म ३४ हजारले अवलोकन गर्दा १ करोड ३ लाखको कारोबार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । ललितपुरको जावलखेलमा १८औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जनाभन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् ।

असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २ सय जना, दोस्रो दिन सात हजार ५ सय, तेस्रो दिन आठ हजार ६ सय जना र चौथो दिन अर्थात शनिबार (आज) ११ हजार ५ सय जनाले अवलोकन गरेको एसोसिएसनले जनाएको छ ।

चार दिनमा ३४ हजार ८ सय जनाले अवलोकन गर्दा एक करोड तीन लाख रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ । शनिबार भएको कारण अरु दिनको तुलनामा बढी अवलोकर्ता आएका थिए र सोही अनुसार कारोबार भएको एसोसिएसनले जनाएको छ ।

शनिबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले मेला अवालोकन गरेका थिए ।

आइतबारसम्म चल्ने मेलामा ४० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख रुपैयाँभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

गोदावरी फूलको एक मात्र बृहत प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ ।

विगत वर्षमा झैं यसवर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो ।

देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती हुँदै आइरहेको छ । हाल एक हजार २३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा पाएका छन् ।

पुष्प व्यवसायमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ । वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपियाँ पुगेको फ्यानले जनाएको छ । आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ ।