
काठमाडौं, १ कात्तिक । अफगानिस्तान र पाकिस्तानबीच युद्ध सुरु हुने संकेत देखिएको छ ।
पाकिस्तानी सेनाले दुई देशबीचको युद्धविराम उल्लंघन गर्दै शुक्रबार साँझ अफगानिस्तानको पक्तिका प्रान्तको उर्गुन जिल्लामा हवाई आक्रमण गरेको हो । जसमा तीन क्रिकेटरसहित ८ जना अफगानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणपछि अफगानिस्तान क्रिकेट बोर्डले तीन अफगानी क्रिकेटरको मृत्यु पुष्टि गरेको छ ।
अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जालमा भनेको छ, ‘अफगानिस्तान क्रिकेट बोर्डले पक्तिका प्रान्तको उर्गुन जिल्लाका बहादुर क्रिकेट खेलाडीहरूको दुखद शहीदप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दछ । आज साँझ पाकिस्तानी शासनले गरेको कायरतापूर्ण आक्रमणमा उनीहरूलाई निशाना बनाइएको थियो । यस हृदयविदारक घटनामा, उर्गुन जिल्लाका तीन खेलाडीहरू (कबीर, सिब्घतुल्लाह र हारुन) र अन्य पाँच देशवासीहरू शहीद भए, जबकि सात जना घाइते भए । खेलाडीहरू पहिले मैत्रीपूर्ण क्रिकेट खेलमा भाग लिन पक्तिका प्रान्तको राजधानी शराना गएका थिए ।’
यसैबीच, अफगानिस्तानले त्रिकोणात्मक शृङ्खलाबाट नाम फिर्ता लिएको छ । नोभेम्बरमा पाकिस्तान, श्रीलंका र अफगानिस्तानबीच टी–२० त्रिकोणीय शृङ्खला हुने तय भएको थियो ।
अफगानिस्तान क्रिकेट बोर्डले भनेको छ, ‘यस दुखद घटनापछि र पीडितहरूप्रति सम्मान गर्दै, अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानसँगको आगामी त्रिकोणीय टी–२० शृंखलाबाट पछि हट्ने निर्णय गरेको छ । अल्लाहले शहीदहरूलाई स्वर्गमा उच्च स्थान प्रदान गरून्, घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ प्रदान गरून्, र यस शोकको घडीमा उनीहरूका परिवारलाई धैर्य र शक्ति प्रदान गरून् ।’








प्रतिक्रिया