
काठमाडौं, ३१ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न भएको बैठकले ११औं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक बुधबारदेखि सुरु भएको थियो ।
गौतमले भने, ‘आगामी दिनमा समग्र नेतृत्वको पुनगठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयका सन्दर्भमा पार्टीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं राष्ट्रिय महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी हामी अगाडि बढ्ने भनेर पार्टी एकमतका साथ अगाडि बढेको छ ।’ केन्द्रीय कमिटी बैठकले जम्मा २२ वटा प्रस्तावहरु पारित गरेको पनि उनको भनाई छ ।
यस्तै, उनले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउनेतर्फ नभई मुलुकलाई बहुआयामिक संकटतिर ढकेल्न सक्रिय देखिएको पनि बताए ।
उनले भने, ‘निर्वाचनको प्रयोजनका लागि सरकारले जुन भूमिका निर्वाह गर्नुपर्ने हो । निर्वाचनको वातावरण बनाउनुपर्ने हो, त्यो खालको कुनै काम गरिरहेको छैन र त्यसको लागि हामीले निर्वाचन आयोगमार्फत पार्टीका तर्फबाट औपचारिक प्रस्ताव पनि उपलब्ध गराई सकेका छौँ । सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने होइन । मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न सक्रिय देखिन्छ । निर्वाचनको आधार बनाउने होइन उल्टो बाटो तिर हिँडिरहेको छ भन्ने हाम्रो निष्कर्ष छ ।’
बैठकले भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषिहरुलाई कारबाही गर्नुपर्ने माग पनि राखेको उनले बताए ।
उनले भने, ‘सामाजिक सञ्जालको निर्वाद सञ्चालन भ्रष्टाचारको विरोध र सुशासन लगायतका विभिन्न माग राखेर जेनजी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेकपा एमाले स्तब्द भएको छ । भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्छ र दोषिहरुलाई कारबाही गरिनुपर्छ भन्ने माग यो बैठकले गरेको छ ।’
उनले भदौ २३ र २४ गतेको गम्भीर घटनाहरुको छानबिनका लागि सोही अुनसारको दक्षता, निष्पक्षता आवश्यक रहे पनि सरकारले गठन गरेको छानबिन आयोगमा राजनीतिक पूर्वाग्रह, दूषित सोच र मनसाय राख्ने व्यक्तिहरु रहेका बताए ।
उनले भने, ‘यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रमा संलग्न घटनाहरुको छानबिनका लागि सोही अुनसारको दक्षता, निष्पक्षता आवश्यक पर्छ तर सरकारले गठन गरेको छानबिन आयोगमा रहेका कतिपय व्यक्तिहरुको राजनीतिक पूर्वाग्रह, दूषित सोच र मनसाय सार्वजनिक भइसकेको छ । निश्चित राजनीतिक नेताहरुलाई आरोपित गर्ने पूर्व योजना बोकेको व्यक्तिहरुबाट यति गम्भीर घटनाको यथार्थ बाहिर आउँछ भन्ने हामीलाई विश्वास छैन । तसर्थ केन्द्रीय कमिटीको यो बैठक सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ भन्ने मान्यता राख्दछ । नागरिक स्तरबाट पनि यसको छानबिन होस् भन्ने चाहाना राख्दछौँ ।’








प्रतिक्रिया