१८ असार २०८३, बिहिबार

मलेसियासँगको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । एसियन कप छनोटका क्रममा मलेसियासँगको हारको नतिजा उल्ट्याउन नेपालले औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसियन कप छनोट प्रक्रियाअन्तर्गत २–० ले नेपाल पराजित भएको थियो ।

छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धनमा परेसँगै विश्व फुटबल नियामक संस्था फिफासमक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

गत महिना फिफाले मलेसियाको राष्ट्रिय फुटबल टोलीमा संलग्न सातजना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल संघ (एफएएम)लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’ मा सम्पन्न छनोट खेलमा नेपालविरुद्ध पहिलो गोल गरेका थिए ।

“हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा फिफासँग सम्पर्क गरिसकेका छौँ । त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवेदन दिएका हौँ,” तुलाधरले भने ।

मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार, उनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको एएफपीले जनाएको छ ।

यसैबीच, मलेसियाको फुटबल संघले यसबारे जानाजानी कुनै पनि गलत काम नगरेको दाबी गरेको छ । उसले खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको जिकिर गरेको छ ।

प्रतिबन्धित सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसियन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ ।

हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अंक प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा छ । मलेसिया १२ अंकका साथ शीर्ष स्थानमा छ । भियतनाम नौ अंकसहित दोस्रो र लाओस तीन अंक प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।