२१ असार २०८३, आइतबार

विरोधीले नै भन्नेछन्– कमब्याक ओली, सेभ द नेशन !

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश पाण्डे

नेकपा (एमाले)को दशौं केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ । पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो- ‘फेसबुकले भनेर होइन्, पार्टी कमिटीले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन !’

भदौ २९ गते बुधबारबाट सुरू भएको बैठकको पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखे । आज बिहीबार थप एक सय जनाले धारणा राखे । तर, धारणा राख्ने एकाध बाहेक सबैले ओलीको आवश्यकता एमालेमा दर्शाइरहेका छन्, ओलीमै एमालेको भविष्य देखिरहेका छन् । ओलीबिनाको एमालेको कल्पना गर्ने केन्द्रीय कमिटीमा विरलै सुनिन्छन् ।

बरू, एमालेको केन्द्रीय कमिटी बैठक चलेकै दिन माओवादीको चार दशकदेखि अनवरत नेतृत्व गरिरहनु भएका प्रचण्डको धारणा आयो- ‘ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ !’ प्रचण्डको यो अभिव्यक्ति एमालेको नेतृत्व तथा कार्यकर्ताहरूलाई झनै आँखा खुलाइदिने खालको छ । ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको परिकल्पनाकारमध्येका एक प्रचण्डबाट त्यो धारणा आउनु संयोग होइन् ।

एमालेको केन्द्रीय कमिटी बैठक यस्तो परिवेशमा भइरहेको छ, यतिबेला नेपालको भविष्य अन्धकारमा होमिएको छ । देशप्रेमको चट्टानी अडान, राष्ट्रप्रेमी र समृद्ध नेपालका सिल्पकार ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मात्रै नभई भौतिक रूपमै सखाप पार्ने असफल प्रयास भएको छ । एमालेका देशभरका कार्यालयमा मात्र होइन्, कार्यकर्ताका भावनामा आगो झोस्ने र अन्यौल सिर्जना गर्ने काम गरिएको छ । पार्टी छियाछिया पारिएको बेला कुर्सीको आश्चर्यजनक हानाथाप पनि चलिरहेको छ ।

जेन्जी आन्दोलनका बाहनामा नेतृत्व र पार्टीविरूद्ध जेहाद छाडिएका बेला केही नेतालाई पद र पार्टीको सत्ता यति प्यारो भयो कि तिनीहरूले एकजोर कपडाका भरमा सेनाको सुरक्षामा रहेका आफ्ना अध्यक्षको हालत सम्झिएनन्, न त जतिबेलै औषधी खानुपर्ने अध्यक्षको स्वास्थ्यलाई सम्झिए । दशकौं सहयात्रा गरेका सहयोद्धाप्रति अलिकति पनि मानवीय संवेदना देखाइएन ।

नेकपा (एमाले)मा समस्या नभएको होइन्, समस्या छ । कार्यशैलीमा केही समस्या छ, झिनामसिना विकृति, विसंगति पनि छन् । अलि अलि गुटबन्दी पनि छ । जीवन्त र विशाल पार्टीमा यस्ता समस्या सँधै हुन्छन् । एमालेमा मात्र होइन्, संसारका सबैजसो पार्टीमा अन्तरसंघर्षहरू छन्, समस्याहरू छन्, विकृतिहरू पनि छन् । पार्टी समाजकै एक अंग हो, त्यसको प्रतिविम्व पार्टीमा नदेखिने कुरै भएन । यसर्थ, सुधार निरन्तर चलिरहने प्रक्रिया हो । तर, नीति, सिद्धान्त र नेतृत्वका हकमा एमालेमा समस्या नहुनुपर्ने हो, बनाइएको छ ।

जेन्जी आन्दोलनको अघिल्लो दिन अर्थात भदौ २२ गते साँझ करिब छ बजेतिर गोदावरीको सनराइज हलमा विधान महाधिवेशनका निर्णय सुनाउने क्रममा २२ सय जना नेताहरू (महाधिवेशन प्रतिनिधि)लाई ओलीले एकपटक मात्रै होइन्, बारम्बार सोध्नुभयो– ‘तपाईंको केही फरक मत छ ? फरक मत छ भने हात उठाउनुस् !’ तर, कसैको हात उठेन । एकमना, अभूतपूर्व एकताका साथ विधान महाधिवेशन सम्पन्न भयो । इतिहासमा यस्ता एकता दुर्लभै देखिन्छन् ।

तर, त्यसको भोलिपल्ट जेन्जी आन्दोलन भयो । आन्दोलनको केही दिनमै एमालेभित्र पार्टीको पुनर्गठन र नेतृत्वको विकल्पका बारेमा जिम्मेवार नेताबाटै सामाजिक सञ्जाल तरंगित गर्ने काम सुरू भयो । देशको भविष्य अन्धकार सुरूङभित्र पसेको बेला, पार्टी र आन्दोलनको भविष्यमाथि नै प्रश्न उठेको बेला केही नेताहरू सामाजिक सञ्जाल रंग्याउन आउनु आफैमा दुःखद हो । जेन्जी आन्दोलनको माग प्रधानमन्त्रीको राजीनामा थिएन । न त पार्टीको नेतृत्व परिवर्तनकै लागि थियो । तर, जेन्जी आन्दोलनका बाहनामा नेतृत्व र पार्टीविरूद्ध जेहाद छाडिएका बेला केही नेतालाई पद र पार्टीको सत्ता यति प्यारो भयो कि तिनीहरूले एकजोर कपडाका भरमा सेनाको सुरक्षामा रहेका आफ्ना अध्यक्षको हालत सम्झिएनन्, न त जतिबेलै औषधी खानुपर्ने अध्यक्षको स्वास्थ्यलाई सम्झिए । दशकौं सहयात्रा गरेका सहयोद्धाप्रति अलिकति पनि मानवीय संवेदना देखाइएन ।

अध्यक्ष ओलीबाट पटकपटक नियुक्ति लिएका, पार्टीको केन्द्रीय तहमा ‘लिफ्ट’ पाएकाहरूको मौनता पनि आश्चर्यजनक छ । कहिल्यै अवसर नपाएका कार्यकर्ता चाँहि सामाजिक सञ्जालमा अनेक अपमान सहेर पनि जुधिरहेका छन् ।

नेकपा (एमाले)मा रूपान्तरणका बारेमा बहस जरूरी छ । तर, यस्ता बहस र छलफल द्वन्द्वका बेलामा होइन्, सहज अबस्था भएका बेला गरिनुपर्छ । द्वन्द्व र प्रतिकुलताका बेला लिइने निर्णय सही निष्कर्षमै पुग्छ भन्ने पनि छैन् । संकटको बेला हार्दिकता र एकता नै महत्वपूर्ण हुन्छ । एकताबाट नै शक्ति आर्जन हुन्छ । पार्टीको नेतृत्व बाटोबाटोमै बदलिने कुरा पनि होइन, पार्टीका वैधानिक फोरमहरू आयोजना गरिनुपर्छ । त्यसका निश्चित विधि र प्रक्रियाहरू छन् । जसरी अहिले केन्द्रीय कमिटीको बैठक चलिरहेको छ, केन्द्रीय कमिटीले महाधिवेशन तोक्छ । महाधिवेशनले नीति र नेतृत्वको टुंगो लगाउँछ । तर, नेतृत्वका विरूद्ध छापामार शैलीमा खुइल्याउने, भ्रम फैलाउने काम पार्टीको पदाधिकारी तहबाटै भइरह्यो । अध्यक्षका विरूद्ध भ्रम फैलाउनेहरू कि त उहाँको पछि कुँदेर अवसर नपाउनेहरू छन्, कि त पटकपटक अवसर प्राप्त गरी मोटाएकाहरू छन् । पार्टी छाडेका, छाड्न तम्सिएका र कतिपय फेरी जोडिएकाहरू पनि आलोचनामै व्यस्त देखिन्छन्, जो कहिल्यै पनि केपी ओलीलाई सच्चा अर्थमा नेता मान्न तयारै थिएनन् । तर, अध्यक्ष ओलीबाट पटकपटक नियुक्ति लिएका, पार्टीको केन्द्रीय तहमा ‘लिफ्ट’ पाएकाहरूको मौनता पनि आश्चर्यजनक छ । कहिल्यै अवसर नपाएका कार्यकर्ता चाँहि सामाजिक सञ्जालमा अनेक अपमान सहेर पनि जुधिरहेका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन काँग्रेसका उपसभापति चन्द्र भण्डारीले तर्क गर्नुभयो– ‘युवा उमेरले होइन्, सोचले हुने हो !’ ओली उमेरले ७३ वर्ष भए पनि सोच र इच्छा शक्तिले सँधै युवा हुनुहुन्छ । समकालिन नेताहरूमा तुलना गर्दा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ओलीभन्दा ६ वर्ष जेठो हुनुहुन्छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओली भन्दा दुई वर्ष जेठा । चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनको उमेर ओलीकै हाराहारीमा छ । क्यामरूनका पाउल बिया ओली भन्दा १९ वर्ष जेठो हुनुहुन्छ । एङगोलाका फर्नान्डो जोस डे फ्रान्सा डायस भान ८९ वर्षमा प्रधानमन्त्री बन्नुभएको थियो भने मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद ९२ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भई संसारकै वृद्ध प्रधानमन्त्री बन्नुभएको थियो । राजनीतिमा उमेर केवल नम्बर मात्र हो । मुख्य कुरा त इच्छाशक्ति र सोच हो । नवीनतम सपना, संघर्ष र संकल्प ओलीसँग छ ।

यसो त ओली अत्यन्त कठोर दिनहरूसँग जुधेर, झुटा आरोपहरू सहेर, कार्यकर्ताको बलमा भुईँमान्छेबाट राष्ट्रिय नेता बन्नुभएको हो । गोलघरको कालकोठरीमा चरम यातना दिइरहेका बेला समेत पार्टीभित्र उहाँविरूद्ध षडयन्त्र गरिन्थे । त्यतिबेलाको घटनाक्रमलाई सम्झेर सूर्य थापाले २०५३ सालमा लेख्नुभएको थियो– ‘२०३० साल असोज २३ गते रौतहटको गौरबाट पक्राउ परेपछि ओलीलाई ‘खतरनाक कम्युनिष्ट’को अभियोगका साथ १४ वर्ष लामो जेल सजाय र अमानुषिक यातनाको शिकार बनाइयो । उहाँलाई चार महिना भन्दा बढी समयसम्म प्रहरी हिरासतमा नियमितजस्तै कुटिन्थ्यो । गोलघरको कालकोठरीमा उहाँ चारवर्षभन्दा लामो नारकीय जीवन बिताउन बाध्य हुनुभयो । उहाँ नेपालका एकतिहाई जेलहरूमा राजबन्दीका रूपमा बस्नुभएको र २५ पटक भन्दा बढी उहाँलाई जेल सरूवा गरिएको थियो । नख्खु, भद्रगोल, बीरगञ्ज, स्याङ्जा, पोखरा र गौर आदि जेलहरूमा उहाँ कहाँ बस्नुभएन र ? तर, अचम्मको कुरा, भद्रगोल जेलको कालकोठरीमा रहेका बखत उहाँको पार्टी सदस्यता नै खारेज गरिएको थियो । अर्थात्, झापा आन्दोलनलाई उग्रवामपन्थी भड्काव भनेबापत त्यसै आन्दोलनको सिलसिलामा बलिदानीमा चढ्न तम्सिनुभएका ओलीको पार्टी सदस्यता नै खारेज गरिँदा पनि उहाँ आफ्नो अडानमा दृढ रहनुभयो । र, निरन्तर उग्रवामपन्थविरूद्ध सम्झौताहीन संघर्षमा डटिरहनुभयो । कालान्तरमा पार्टीले झापा आन्दोलनलाई उग्रवामपन्थी गल्ती भनेर स्वीकार गर्‍यो । अनि, एउटा गम्भीर वैचारिक संघर्षमा उहाँ पहिलोपटक विजयी हुनुभयो ।’

जेलको मात्र के कुरा, खुल्ला राजनीतिमा आएपछि पनि उहाँमाथि अल्पमत र बहुमतको डण्डा चलिरह्यो । पार्टीभित्र अल्पमतमा पर्दा जमेर संघर्ष गर्नुभयो, देशभरि आफ्नो छुट्टै सञ्जाल पनि सञ्चालन गर्नुभयो । पार्टी नेतृत्वले उहाँलाई संस्थागत रूपमै जिल्ला–जिल्ला र कार्यकर्ताको बीचमा पुग्नबाट नियन्त्रणसमेत गर्ने गर्‍यो । उहाँले एकता र विभाजन दुवै भोग्नुभयो । आफू हाराहारीको दोस्रो अध्यक्ष बनाएर उस्तै–उस्तै रंग र बुट्टेदार कुर्सीमा नै प्रचण्डलाई आसीन पनि गराउनुभयो । तर, दुई वर्ष बित्दानबित्दै ‘१९ बुँदा’को लिखित आरोपपत्र मात्रै बेहोर्नु भएन, पार्टी अध्यक्ष, संसदीय दलको नेता, सांसद र पार्टी सदस्य समेतबाटै निष्कासितसम्म गरिनुभयो । पार्टी एकतामा ४० प्रतिशत हिस्सा प्राप्त गरेका सहकर्मी नेताबाट यसरी निस्काशित भएको घोषणा सुन्न पनि उहाँ अभिशप्त हुनुपर्‍यो । अध्यादेशको चर्को विरोध गरी ‘र’ लाई ‘वा’ बनाउनु संविधानविपरीत भयो भन्नेहरूबाटै ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर नेकपा (एमाले)को संसदबाट विभाजन गरियो । १६ र १४ वर्ष पार्टी प्रमुख भएका नेताहरूबाट नेकपा (एमाले) यसरी विभाजन गरिनेछ, त्यो पनि नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ, वैदेशिक शक्तिहरूको उक्साहट र एमाले विरोधीहरूको लगानीमा भन्ने कसरी सोच्नु र विश्वास गर्नु ? यस्ता भोगाइहरू सबैभन्दा बढी उहाँकै स्मृतिपटलमा सुरक्षित र ताजै हुनुपर्दछ । २०७८ सालको त्यो विभाजनबाट धुलो टक्टकाउँदै पार्टीलाई लोकप्रिय मतमा पहिलो बनाउनुभयो । न अशोक राईहरूको विभाजनबाट आत्तिनुभयो, न त एमालेमुक्त मधेशको नारा लगाएर आफूलाई मधेश प्रवेशमा रोक लगाउने उद्घोष गरिँदा आत्तिनुभयो । बरू, मधेशमा एमालेलाई पहिलो ठूलो पार्टी बनाउनुभयो । पटकपटक धोका, विश्वासघात र घेराबन्दी सहनुभयो । अर्थात् कान्छी औंलो दिनुपर्नेलाई कान्छी औंली दिएर, हात दिनुपर्दा हात दिएर र काँध हाल्नुपर्दा काँध हालेर उहाँले प्रतिकूलतालाई चिर्दै अनुकूलता सिर्जना गर्नुभएको तथ्य स्पष्टै छ ।

भदौ २२ गतेको त्यो रात

भदौ २२ गते राति साँढे १० बजेतिर हुनुपर्छ, म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थिएँ । साथमा प्रवासी नेपाली साथीहरू हुनुहुन्थ्यो । बालुवाटार पुगेपछि थाहा भयो, सुरक्षा समितिको बैठक बसिरहेको रहेछ । बैठक रातको १२:३० तिर सकियो । त्यस दिन प्रधानसेनापति बाहेक सुरक्षा निकायका सबै प्रमुखलाई बैठकबाट निस्केको देखेको थिएँ । सेनाबाट चाँहि अर्कै कोही जस्तो लाग्यो, मैले चिनिन । त्यो बैठकपछि प्रधानमन्त्रीले प्रवासी नेपालीहरूलाई भेट्नुभयो । त्यसलगत्तै मैले प्रधानमन्त्रीसँग संक्षिप्त भेटेँ । उहाँसँग प्रेस चौतारी नेपालले गर्न लागेको राष्ट्रिय अभियानका बारेमा सल्लाह गर्नुपर्ने थियो, त्यसबारे अनुमति पाएँ । साथमा, प्रेस चौतारी दार्चुलाका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी पनि हुनुहुन्थ्यो । हामीले भेट्दा भदौ २३ गतेको बिहान १:३७ भइसकेको थियो ।

मैले जेन्जी आन्दोलनका बारेमा पनि चासो राखेको थिएँ, तर उहाँहरूको बुझाईमा ‘केही हजार युवाहरू आउँछन्, नाचगान गर्छन्, आफ्नो हिसाबले विरोध गर्छन् । शान्तिपूर्ण हुन्छ भन्ने खबर छ’ भन्ने जवाफ पाएको थिएँ । सुरक्षा निकायको ब्रिफ्रिङ २/३ हजारको हाराहारीमा मात्र विरोध प्रदर्शनका लागि युवाहरू आउँछन् भन्ने रहेछ । तर, सुरक्षा निकायको आँकलन फेल खायो । भोलिपल्ट कमजोर सुरक्षा रणनीतिका कारण अप्रिय घटना भयो । जेन्जी अभियन्ताहरूले आन्दोलन सकिएको जानकारी गराउँदा गराउँदै पनि आन्दोलनको नाममा उप्रदो मच्चाइयो । अनेक स्वार्थ समूहको स्वार्थ मिसियो । अनाहकमा १९ जना युवाहरूले त्यस दिन ज्यान गुमाए । एम्बुलेन्समा आएर समेत गोली हानेको देखियो । प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत त्यस दिनको घटनाक्रम अकल्पनीय भयो ।

मेरो विचारमा भदौ २३ देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन आउनुपर्‍थ्यो । जेन्जी युवाहरूलाई भोलिपल्ट वार्तामा बोलाउने र जेन्जीको भावनाको सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्दथ्यो । तर, त्यसको विपरीत सरकारमै रहेका केही मन्त्रीले मन्त्रिपरिषद् बैठक लगत्तै माहौल भड्काउने काम गरे । भोलिपल्ट प्रधानमन्त्रीले राजीनामा दिनुभयो तर माहौल झन् बिग्रियो । देश सरकारविहीन अवस्थामा पुग्यो । इतिहासकै कालो दिनका रूपमा भदौ २४ गते रहन पुग्यो । देशका सामरिकस्थल, सिंहदरबार, संसद, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, मन्त्री निवास, सरकारी भवन तथा निजी भवनहरू समेत ध्वस्त पारिए । प्रहरी कार्यालय जलाएर हतियार लुटियो, सिपाहीलाई कुटीकुटी मारियो । सेनाले सिंहदरबार जल्दा पनि हेरिरह्यो, आफ्नै परमाधिपति (राष्ट्रपति)को भवन समेत जोगाउन सकेन । इतिहासमा विरलै यस्ता कालो दिनहरू हुन्छन्, जुन जेन्जी आन्दोलनका नाममा भए । देश डुब्यो भनेर भाष्य बनाइएको थियो, खासमा देश डुबेको अहिलेको पुस्ताले भदौ २४ गते प्रत्यक्ष देख्यो । यसका पछाडि को–को संलग्न थिए, कसको इशारा र उक्साहटमा यस्ता घटना भए, यी सबै कुरा विस्तारै खुल्दैछन् । अब पनि खुल्दै जालान ।

मेरो विचारमा भदौ २३ देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन आउनुपर्‍थ्यो । जेन्जी युवाहरूलाई भोलिपल्ट वार्तामा बोलाउने र जेन्जीको भावनाको सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्दथ्यो । तर, त्यसको विपरीत सरकारमै रहेका केही मन्त्रीले मन्त्रिपरिषद् बैठक लगत्तै माहौल भड्काउने काम गरे । भोलिपल्ट प्रधानमन्त्रीले राजीनामा दिनुभयो तर माहौल झन् बिग्रियो ।

जेन्जी कुनै पार्टी वा संगठित समूह होइन्, यो एउटा पुस्ता हो । यो पुस्ताले तात्तात्तै परिणाम खोज्छ । पक्कै हो, देशमा त्यस ढंगले काम भएको थिएन । भ्रष्टाचार पनि छ । यो कुरा राज्यले नै स्वीकारेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै स्थापना गरेको छ । र, उसले काम पनि गरिरहेको छ । समग्रमा जेन्जी पुस्ताले उठाएको सवालमा नकारात्मक हुनुपर्ने अवस्था छैन् । तत्कालिन प्रधानमन्त्री ओलीले समेत गोदावरीको सनराइज हलमा जेन्जी पुस्ता देशप्रेमी भएको बताउनुभएको थियो । तर, भदौ २३ र २४ गते जेन्जी पुस्तालाई उचालेर जसरी देशी–विदेशी तत्वलाई खुसी पार्ने काम भयो, इतिहासले पक्कै पनि माफ गर्ने छैन् । अर्कोतर्फ, ‘सर्वे भवन्तु सुखीन’ जस्तो पवित्र भावना बोकेको हाम्रो नेपाली समाज नै व्यापारिक प्रतिष्ठान र छिमेकीको घर जलाउन र तोडफोड गर्न जानु अभिषाप हो ।

भदौ २३ गतेको जेन्जी आन्दोलनको माग प्रधानमन्त्रीबाट ओलीको बर्हिगमन थिएन, न त पार्टीको नेतृत्वबाट बिदाई नै थियो । माग केवल सुशासन कायम र भ्रष्टाचार अन्त्य थियो । त्यो कुरा जेन्जीका अगुवाहरूले मिडियासँग पनि पटकपटक भनिरहेका छन् । झट्ट सुन्दा निकै प्रिय लाग्ने यो नारासँग विष घोलिएको थियो । त्यो कुरा भर्खरै राजनीति बुझ्दै गरेका पुस्ताले बुझ्ने कुरै भएन । जेन्जीका नाममा आन्दोलनको आह्वान गर्ने अहिले हेरेको हेर्रै छन्, पानी बाँड्न हिँडेकाहरू नेताका रूपमा अगाडि आएका छन् । उचाल्ने कालो स्यालहरू शहरभित्र पसेर लुकेको लुक्यै छन् । प्रधानमन्त्री ओलीको बर्हिगमनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्की आफै राम्रोसँग हिँड्न नसक्ने अवस्थामा देखिन्छिन् । मन्त्रीहरू स्टण्टमा व्यस्त छन् । चुनावको म्याण्डेड पाएको सरकार आफ्नो औचित्य सावित गर्नमै व्यस्त भएको देखिन्छ । अबको पाँच महिनामा चुनाव हुने अवस्था कुनै पनि हालतमा देखिन्न । चुनाव नभए देश कस्तो घनाचक्करमा फस्छ भन्ने चिन्ता आमनेपालीमा छ । राज्यको मनोबल गिरेको छ, निजी क्षेत्रको मनोबल त्यस्तै कमजोर छ, देशमा लगानी गर्न कस्सिएका र रेमिट्यान्स पठाइरहेकाहरू पनि सोच्न बाध्य छन् । धेरै मित्र राष्ट्रले भिसा दिन बन्द गरेका छन्, नेपाल भ्रमण नगर्न एड्भाइजरी नै जारी गरेका छन् । अबको दिनमा देशले झन बढी दुःख पाउने पक्का छ । दुई तिहाईको सरकारले गर्न नसकेको काम म्यादी सरकारले गर्छ भन्नु हवाई गफमात्र हो ।

भर्खरै जुंगाको रेखी बसेका युवाहरुले दिनरात प्रधानमन्त्री कार्कीलाई हप्काएको हप्काएकै छन् । रिटायर्ड जीवनमा रमाइरहेकी कार्कीले यो भारी कहिलेसम्म बोक्न सक्नुहुन्छ, टुंगो छैन । यो भारी बोक्न नसके उहाँ त बेलायतमा रहेका छोरासँग गएर आरामका साथ बस्नुहोला । तर, त्यतिबेलासम्म देश नराम्रो दुष्चक्रमा फसिसकेको हुन्छ । फेरी यो देश सम्हाल्न आउनुपर्ने ओलीहरुले नै हो ।

साना–साना बालबालिका र किशोर किशारीलाई अति नै माया गर्ने ओलीलाई आफ्नो कार्यकालमा अबोध बालबालिकाको अकालमै ज्यान जाँदा पक्कै मन दुःखेको छ । आन्दोलनमा प्रहरीको गोली लागेर भन्दा भाटभटेनी लुट्दा र जेल तोड्दा मारिनेको संख्या ठूलो छ । प्रधानमन्त्रीका रूपमा उहाँले नैतिक जिम्मेवारी लिँदै राजीनामा त दिनुभयो, तर देशलाई खरानी बनाउने काम भएको छ । त्यसैले ओलीले भन्नुभएको छ, २३ गतेको घटनाको छानबिन र २४ गतेको घटनामा संलग्नमाथि कारबाही । उहाँले जेन्जी आन्दोलनका नाममा भएको विध्वंशका सन्दर्भमा पनि कठोर शव्दहरू व्यक्त गर्नुभएको छ । कारण सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने ओलीको बानी छ । उहाँ अरूजस्तो चपाएर कुरा गर्नुहुन्न । जस्तोसुकै प्रतिकुलतामा पनि सुस्पष्ट विचार र निडरता उहाँका विशेषता हुन् । उहाँ अरूको विश्लेषण, धारणा र सापटी विचारको आधारमा नभएर आफ्नै ‘एन्टीकरेण्ट’ (अलग) दृष्टिकोणका साथ सक्रिय हुनुहुन्छ । यसैले त २०७७ सालमा कान्तिपुरका गंगा बिसीले लेख्नुभएको थियो– ‘प्रायः विद्रोह जनताले गर्छन्’ ओलीको सन्दर्भमा त्यो कुरा मिल्दैन । कहिलेकाँही ओलीले जनताविरूद्ध विद्रोह गर्छन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएपछि उनले दिएको अभिव्यक्ति रोचक छ । झापाबाट काठमाडौं फर्कने क्रममा उनले पत्रकारलाई प्रतिक्रिया दिएका थिए– ‘जनताले गल्ती गरेकाले पराजित भएँ । जनताले यो कुरा महसुस गर्नुपर्छ । आगामी निर्वाचनमा सच्याउनेछन् ।’ यो उनको जनताप्रति ‘साइलेन्ट’ विद्रोहको अभिव्यक्ति थियो । जति पराजित भए पनि कहिल्यै नझुक्ने स्वभाव ओलीमा देखिन्छ ।’

काँग्रेसका कतिपय नेताहरू अहिले नै ओलीको शरणमा गएर गुण्डुमा भन्ने गरेका छन्– ‘यो देशमा साहसी र जिउँदो नेता तपाईं मात्र हुनुहुँदो रहेछ । अहिलेको राजनीतिक समस्याबाट पार लगाइदिनुस् !’

अहिले देश–विदेशका भ्रष्ट, माफिया र खुफिया एजेन्सीमार्फत ओलीलाई बदनाम गर्ने प्रचारबाजी–प्रचारयुद्ध नै छेडिएको छ । खासमा, यो नेकपा (एमाले)माथि, यसको बलियो नेतृत्वमाथि र मुख्यतः अध्यक्ष ओलीमाथिको योजनाबद्ध हमला हो भन्ने तथ्य जगजाहेर नै छ । यस्तो बेला निराशाको कुरा गर्नु क्रान्तिकारी चरित्र होइन् । ओली कहिल्यै पनि भीडको पछि लाग्ने नेता होइन् । बरू, भीडलाई आफ्नो पछाडि लगाउने नेता हो । खरानी बनाउन त भदौ २४ गते एकै दिन पर्याप्त भयो, तर अब त्यसलाई बनाउन वर्षौ लाग्नेछ । तसर्थ, सुस्पष्ट विचार र अडानले मात्र भीडलाई सही नेतृत्व दिन सकिन्छ । विदेशीका सामु लम्पसार पर्नेहरूलाई जनताले छिट्टै चिन्नेछन् । युवाहरूले उठाएको माग जायज थियो । उनीहरूको माग सम्बोधन गर्न ओलीले नेतृत्व गर्नुपर्छ । जेन्जी पुस्तासँग संवाद र सहकार्य गरिनुपर्छ । उनीहरूको भावनालाई बोकिनुपर्छ । पार्टीभित्र सबै क्षेत्रका युवाहरूको प्रतिनिधित्व बढाइनुपर्छ । आत्मसमिक्षाका साथ एमाले अघि बढ्नुपर्छ । तब युवाहरूले पनि परिस्थिति बुझ्नेछन् ।

भर्खरै जुंगाको रेखी बसेका युवाहरुले दिनरात प्रधानमन्त्री कार्कीलाई हप्काएको हप्काएकै छन् । रिटायर्ड जीवनमा रमाइरहेकी कार्कीले यो भारी कहिलेसम्म बोक्न सक्नुहुन्छ, टुंगो छैन । यो भारी बोक्न नसके उहाँ त बेलायतमा रहेका छोरासँग गएर आरामका साथ बस्नुहोला । तर, त्यतिबेलासम्म देश नराम्रो दुष्चक्रमा फसिसकेको हुन्छ । फेरी यो देश सम्हाल्न आउनुपर्ने ओलीहरुले नै हो ।

र, विरोधीहरूले पनि भन्नेछन्, कमब्याक केपी शर्मा ओली, सेभ द नेशन !