३ श्रावण २०८३, आइतबार

नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले सुरु गर्‍यो ‘डोर स्टेप बैंकिङ सर्भिस’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । कामना सेवा विकास बैंक लिमिटेडले नेपालमै पहिलोपटक ‘डोर स्टेप बैंकिङ सर्भिस’ सेवा सुरु गरेको छ । बैंकले विशिष्ट बचत खाताअन्तर्गत सार्वजनिक गरेको यो सेवाले नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ ।

यो सेवा मुख्यतया दैनिक काममा व्यस्त रहने र बैंकसम्म पुग्न नसक्ने ग्राहकहरूका लागि ल्याइएको हो । आधुनिक प्रविधिमा आधारित यस सेवामार्फत ग्राहकहरूले आफ्नो घर वा कार्यालयमै बसेर नगद जम्मा गर्ने, नगद निकाल्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट जस्ता सेवाहरू लिन सक्नेछन् । बैंकका अनुसार यी सबै सुविधा निःशुल्क छन् ।

सेवा लिनको लागि ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट अनुरोध गर्नुपर्छ । त्यसपछि बैंकको प्रतिनिधि ग्राहकले चाहेको ठाउँमा पुगेर सेवा प्रदान गर्नेछन् । यसले डिजिटल बैंकिङलाई बढावा दिने र बैंकिङ सेवालाई सहज र प्रविधिमैत्री बनाउने बैंकको विश्वास छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर सुरु गरिएको यो सेवा नेपालमा पहिलोपटक आएको हो । विश्वका विकसित देशहरूमा यस्तो सेवा भए पनि नेपालमा यो पहिलो हो ।

बैंकका प्रमुख मार्केटिङ अधिकृत दीपेन्द्र सुवेदीले कामना सेवाले यो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सुविधाको सुरु गरेको बताए ।

सुवेदीका अनुसार ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले यो सेवा सुरु गरेको हो । यसले ग्राहकहरूलाई समय बचाउने, सहजता दिने र सुरक्षाको पूर्ण अनुभूति गराउनेछ ।

यो सुविधा व्यस्त व्यवसायी, कार्यालय कर्मचारी, गृहिणी र ज्येष्ठ नागरिकहरूका लागि उपयोगी हुनेछ । अब ग्राहकहरूले बैंकमा लामो लाइन बस्नुपर्ने, बैंकसम्म पुग्ने समय खर्च गर्नुपर्ने र कागजी झन्झटमा फस्नुपर्ने छैन । यस सेवाअन्तर्गत बैंकको लकर सुविधा, एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा पनि निःशुल्क रहेको छ । यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र यसलाई देशभर विस्तार गरिने बैंकले जनाएको छ ।