१५ असार २०८३, सोमबार

‘काठमाडौं हरर चलचित्र महोत्सव’ कात्तिक १४ गतेदेखि, १५ देशका २५ फिल्म छानियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमै पहिलोपटक ‘काठमाडौं हरर चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । महोत्सव हेल्लोविन डेको अवसर पारेर आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कात्तिक १४–१६)सम्म रूसी घर, काठमाडौंमा आयोजना हुन लागेको हो ।

‘यो नेपालमा पहिलोपटक आयोजना गरिने हरर चलचित्र महोत्सव हो, जसले लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शन गर्नेछ । विश्वभरका विभिन्न देशहरूबाट प्राप्त १०० भन्दा बढी चलचित्रहरूमध्ये १५ देशका २५ चलचित्रहरू छनोट भएका छन् ।’ महोत्सव निर्देशक रशिक पाठकले भने  ।

चलचित्रहरूको खुला आह्वान फिल्म फ्रीवे प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा गरिएको थियो । प्राप्त फिल्महरूलाई गुणस्तर, विविधता र पारदर्शिताका आधारमा छनोट समितिद्वारा सावधानीपूर्वक मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ । साथै, महोत्सवमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिनेछ ।

निर्णायक मण्डलमा नेपालका छायांकन निर्देशक तथा फोटोग्राफर राजभाइ सुवाल, जर्मनीका चलचित्र समीक्षक होसाम फाह्मी, स्विडेनरलाट्भियाकी समीक्षक एलेक्जान्ड्रा एनवर्ग, र मोरोक्कोकी समीक्षक यास्मिन बुछफार रहेका छन् ।

आयोजकका अनुसार यस महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु हो । नेपाली चलचित्र क्षेत्रमा हरर शैलीका फिल्महरू निकै कम निर्माण हुने भएकाले दर्शकहरू नयाँपनको खोजीमा छन् ।

‘काठमाडौं हरर चलचित्र महोत्सव यस खालको फिल्म संस्कृतिलाई समृद्ध बनाउने, यस्ता चलचित्रको माध्यमबाट नयाँ पुस्तालाई चलचित्रप्रति आकर्षित गरी चलचित्रको बजार विस्तारमा एक अर्को नयाँ ढोका खोल्ने एउटा महत्वपूर्ण प्रयास हो ।’ महोत्सव निर्देशक रशिक पाठकले भने, ‘नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो महोत्सव सफल बनाउन सञ्चारमाध्यमहरूको सहयोग र सहभागिता अत्यन्तै आवश्यक छ । यसले विशेष गरी युवा दर्शकहरूका लागि एक नयाँ र रोचक अनुभव प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’