
काठमाडौँ, २७ असोज । हमासको नियन्त्रणमा रहेकामध्ये सोमबार पहिलो चरणमा रिहा भएका सात बन्धकलाई रेडक्रसले इजरायली सेना (आईडीएफ)लाई सुम्पेको छ । इजरायली मिडियाका अनुसार हमासले सात इजरायली बन्धकहरूलाई उत्तरी गाजामा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेका थिए । आईडीएफले उनीहरूलाई इजरायल ल्याइँदै गरेको बताएको छ ।
इजरायली विदेश मन्त्रालयले सात बन्धकहरूको नाम सार्वजनिक गरेको छ र तीमध्ये एकको तस्वीर पनि साझा गरेको छ । यसको बदलामा इजरायलले प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्नेछ । इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकमा विपिन जोशीको नाम समावेश नभएको बताएका छन् ।
नेपाली विद्यार्थी विपिनलाई अक्टोबर ७, २०२३ मा अन्य इजरायली नागरिकहरूसँगै हमासले बन्धक बनाएको थियो । उनलाई बन्धक बनाएको भिडियो केही दिनअघि सार्वजनिक भएपछि विपिन सकुशल रहेको आशा छाएको थियो ।
त्यसपछि पनि हमासको नियन्त्रणमा रहेका ४८ जना बन्धकमध्ये २० जीवित, २६ मृत रहेको तथा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको खबर आयो । अहिले भने इजरायली सेनाले विपिन जीवित नरहेको जनाएको छ ।
राजदूत धनप्रसाद पण्डितले विपिन जीवित नरहेकोबारे इजरायली सेनाले विपिनको परिवारलाई पनि खबर गरिसकेको बताएका छन् ।








प्रतिक्रिया