११ असार २०८३, बिहिबार

ट्रम्प इजरायल प्रस्थान, हमासले आजै इजरायली बन्धकहरू रिहा गर्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गरेका छन् । जहाँ उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्नेछन् । त्यसपछि उनी इजिप्टको यात्रा गर्नेछन्, त्यहाँ उनले गाजा शान्ति सम्झौता शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । सम्मेलनमा अमेरिका, बेलायत, फ्रान्स र इटाली लगायत २० भन्दा बढी देशका राष्ट्रप्रमुख र प्रतिनिधिहरू सहभागी हुनेछन् ।

इजरायल प्रस्थान अघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो लक्ष्य मध्य पूर्वमा शान्ति प्राप्त गर्नु र मध्य पूर्वी नेताहरूलाई एकताबद्ध गर्नु रहेको बताए ।

‘हामी सबैलाई खुशी बनाउनेछौं र सबै खुशी छन्, चाहे त्यो यहूदी होस्, मुस्लिम होस् वा अरब देश, सबै खुशी छन् ।’ ट्रम्पले भने, ‘इजरायल पछि, म इजिप्ट जानेछु, जहाँ म धेरै शक्तिशाली र ठूला देशहरू, धनी देशहरूका नेताहरूलाई भेट्नेछु । यी देशहरूको सहयोगले नै म गाजामा भइरहेको नरसंहार अन्त्य गर्न सफल भएको छु । म इजरायल र हमास बीचको युद्ध रोक्न सफल भएको छु ।’

उनले गाजामा नरसंहार रोकिएको छ र जीवन र खुशी फर्किएको बताए ।

‘इजरायल र हमास बीचको युद्ध समाप्त भयो । अब हामी गाजा पट्टीको पुनर्निर्माण गर्नेछौँ र यसलाई आतंकवादमुक्त शहरको रूपमा विश्वसामु प्रस्तुत गर्नेछौँ ।’ ट्रम्पले भने ।

इजरायल र हमास दुवैले युद्धविरामको घोषणा गरेका छन् । गाजा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । यो इजिप्टमा हुने शिखर सम्मेलनमा आधिकारिक रूपमा लागू हुनेछ । योसँगै इजरायलले दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ भने हमासले २० जना इजरायली बन्धकहरु पहिलो चरणमा रिहा गर्नेछ ।