
काठमाडौं । पाकिस्तान–अफगानिस्तान सीमामा शनिबार राति भीषण झडप भएको छ । यो साता काबुलमा गरिएको पाकिस्तानी हवाई हमलापछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गर्दा तनाव तीव्र बनेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै गार्डियन न्युजले जनाएको छ ।
विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि सशस्त्र जवाफी कारबाही सुरु गरिएको बताएका छन् ।उनीहरूले दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी गरेका छन् ।
पाकिस्तानी सुरक्षा अधिकारीले धेरै सीमा क्षेत्रमा झडप भएको स्वीकार गर्दै बलपूर्वक जवाफ दिइरहेको बताएका छन् । एक पाकिस्तानी सरकारी अधिकारीले द गार्डियनसँग भने, “आज राति तालिबान सेनाले धेरै सीमा पोस्टहरूमा गोलाबारी सुरु ग¥यो । हामीले सीमाका चार स्थानमा अर्टिलरी प्रयोग गरी जवाफ दिएका छौँ ।”
ती अधिकारीले थपे, “हामी आफ्नो क्षेत्रभित्र अफगान तालिबानको कुनै पनि आक्रमण सहने छैनौँ । पाकिस्तानी सेनाले भारी गोलाबारीसहित जवाफ दियो र धेरै अफगान सीमा चौकीहरूलाई प्रभावकारी रूपमा लक्षित ग¥यो ।”
उनका अनुसार, जवाफी हमलामा पाकिस्तानी सेनाले आर्टिलरी, ट्यांक तथा हल्का र भारी दुवै प्रकारका हतियार प्रयोग गरेको थियो ।
गएको बिहीबार अफगान राजधानी काबुल र दक्षिण–पूर्वी अफगानिस्तानमा थप दुई विस्फोटका खबर सार्वजनिक भएको थियो । त्यसपछि तालिबान सञ्चालित रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको पाकिस्तानमाथि आरोप लगाएको थियो ।
किन गहिरियो सीमा तनाव ?
विश्लेषकले हालका घटनाले सीमा तनाव कति गहिरो छ भन्ने स्पष्ट देखाएको बताएका छन् । वासिङटन डीसीका दक्षिण एसिया विश्लेषक माइकल कुगेलम्यानले भने, “सीमापारि पाकिस्तानी सेनामाथि बढ्दो आक्रमण, अफगानिस्तानमा असामान्य रूपमा तीव्र पाकिस्तानी हमला र तालिबानको जवाफी कारबाहीले समस्याका निम्ति ‘परफेक्ट स्टर्म’ सिर्जना गरेको छ । यसमा अफगानिस्तानले सीमालाई मान्यता नदिनु र संकटबारे गलत सूचनाको विस्तार हुनुले समग्र स्थिति खतरनाक बनेको छ ।”
पाकिस्तानले काबुललाई तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)लाई आश्रय नदिन आग्रह गर्दै आएको छ । टीटीपीले सन् २०२१ यता सयौँ पाकिस्तानी सैनिकको हत्या गरेको र तालिबानसँग वैचारिक निकटताका कारण अफगानिस्तानमा युद्ध तालिम पाएको विश्वास गरिन्छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले हवाई हमलासम्बन्धी रिपोर्ट स्वीकार गर्दै भने, “पाकिस्तानी जनताको जीवनको सुरक्षाका निम्ति हामी जे आवश्यक छ, त्यो गरिरहेका छौँ र गरिरहनेछौँ ।”
उनले अफगानिस्तानलाई पाकिस्तानविरुद्ध आतंकवादका निम्ति आफ्नो भूमि प्रयोग हुन नदिन आग्रह गरे ।
तनाव कम हुने सम्भावना
कुगेलम्यानका अनुसार, यो संकट जतिसुकै गम्भीर भए पनि छिट्टै कम हुने सम्भावना छ । तालिबानसँग पाकिस्तानी सेनासँग सिधा लड्ने क्षमता छैन । र, एकपटक जवाफी कारबाहीले जनताको क्रोध शान्त पारेपछि उनीहरू पछि हट्ने सम्भावना छ ।
इस्लामाबादस्थित सुरक्षा विश्लेषक इम्तियाज गुलले भने, “मेरो विचारमा, हामीले यी केही घण्टामा देखेका घटनाक्रम विशेषतः टीटीपी लुकेका ठेगानामा भएको काइनेटिक अट्याक (प्रत्यक्ष हमला) र पाकिस्तानमा आतंकवादी हमलाको नेतृत्व गरिरहेका टीटीपीविरुद्ध निर्णायक कारबाही गर्न अफगान शासनको निरन्तर इन्कारपछि दुई देशबीच बढ्दै गएको तनावको तार्किक निष्कर्ष हुन् ।”
तर, कुगेलम्यानका अनुसार, अफगानिस्तानमा हालका हमलाले टीटीपीलाई बदला लिन जोखिम उत्प्रेरित गर्न सक्छ, जसले अफगानिस्तानमा थप र सम्भवतः अझ तीव्र पाकिस्तानी कारबाही निम्त्याउन सक्छ ।
उनले थपे, “यदि, अहिले तनाव केही कम भए पनि हामी अझै पूर्ण रूपमा संकटबाट बाहिर निस्किएका छैनौँ ।”
दुवै देशले डुरन्ड रेखा भनेर चिनिने करिब २,६०० किलोमिटर लामो, विकट र पहाडी सीमा साझा गर्छन् ।









प्रतिक्रिया