६ असार २०८३, शनिबार

विश्वकप छनोट : नेपालविरुद्ध जापानले दियो १३२ रनको लक्ष्य

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । कप्तान केन्डेल फ्लेमिङको अर्धशतकप्रेरित जापानले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरतमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको हो ।

जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

एस्मान रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रन थपे । यी दुईले ११–१ को स्थितीबाट ८६ रनको साझेदारी गर्दै जापानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शीर्षक्रम ब्याटरबाट राम्रो प्रदर्शन रहे पनि मध्यक्रमका ब्याटरले त्यो लयलाई कायम राख्न नसक्दा जापान ठूलो स्कोरसम्म पुग्न सकेन । १४औँ ओभरको समाप्तिसम्म जापानले तीन विकेट गुमाएर १०२ रन बनाएको थियो । तर, यसपछिका ६ ओभरमा नेपालका बलरले उत्कृष्ट पुनरागमन गर्दा जापानले स्कोरबार्डमा २९ रनमात्र थप्न सक्यो ।

यी दुईबाहेक, बेन्जामिन इटो–डेविसले १७ रन थपे ।

नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो । चार ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चिए । गुल्सन र सोमपालले समान २० रन खर्चिए ।

प्रतियोगितामा आज लगातार दोस्रो जितको खोजीमा छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । यता, जापान पनि आज लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।