७ असार २०८३, आइतबार

तेल अबिबमा ‘आँसु र राहत’को क्षणको प्रतीक्षा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । हमासले आफ्नो नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू र फेला पारिएका मृतक बन्धकहरूको शव फिर्ता गर्न सहमति जनाएको छ । यो काम आइतबारसम्म हुने अपेक्षा गरिएको छ ।

हमासका राजनीतिक अधिकारीहरूले यो सम्झौतामा कतार र इजिप्टको मध्यस्थता रहेको जनाएका छन्। हमाससँग रहेका बन्धकमध्ये अब २० जना मात्र जीवित रहेको बताइएको छ । ती सबै बन्धकका साथै भेटिएसम्मका शव पनि हस्तान्तरण हुने बताइएको छ ।

उनीहरूले भने– “हामीले सबै जीवित बन्धकहरूलाई सुरक्षित रूपमा फिर्ता गर्ने र सम्भव भएका मृतकहरूको शव इजरायल पठाउने सहमति गरेका छौं। ती बन्धक जो जीवित राख्न सकिएन उनीहरू इजरायलको गोलीबाट मरेका हुन्,हामीले मारेको होइन ।

इजरायली अधिकारीहरूले पनि उक्त सहमति पुष्टि गरेका छन् र यसलाई “दुई वर्ष लामो दुःखद बन्दी संकटको अन्त्यतर्फको ऐतिहासिक कदम” भनेका छन्। इजरायली रक्षा स्रोतका अनुसार उद्धार टोलीहरू गाजाबाट बन्धकहरूको सुरक्षित स्थानान्तरणका लागि तयारीमा रहेको टाइम्स अफ इजरायलमा समाचार छ ।

यसैबीच, बन्धकका परिवारहरूले यस घटनालाई “आँसु र राहतले भरिएको क्षण” भनेका छन्। तेल अबिबमा बन्धक परिवारहरूको समूह Bring Them Home now  का प्रतिनिधि राचेल लेवीले भनेकी छन्, “हामीले वर्षौंदेखि आशा गुमाउँदै आएका थियौँ। अब अन्ततः हाम्रो पीडा समाप्त हुँदैछ।

कतार र इजिप्टका कूटनीतिक स्रोतहरूले भनेका छन् कि यो सम्झौताले आगामी दिनहरूमा स्थायी युद्धविरामका लागि आधार तयार पार्नेछ। यदि सबै प्रक्रिया योजनाबमोजिम अघि बढ्यो भने सोमबारसम्म इजरायलमा बन्धकहरूको फिर्तीका साथै अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमण पनि हुनेछ ।