१ असार २०८३, सोमबार

फिफा विश्वकप छनोट : इजरायलको खेलमा सुरक्षा जोखिम उच्च

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोटअन्तर्गत इजरायलको खेलमा सुरक्षा जोखिम उच्च देखाइएको छ । इजरायलले घरेलु टिमसँगको खेलका निम्ति शनिबार नर्वेको भ्रमण गर्दै छ । त्यसपछि इजरायलले आगामी मंगलबार इटालीमा दोस्रो खेल खेल्दै छ ।

पछिल्लो समय इजरायलले गाजामा गरेको हमलाका कारण इटालीसँगै युरोपका अधिकांश स्थानमा दैनिक प्रदर्शन भइरहेको छ । गाजामा इजरायलले गरेको सैन्य कारबाही गलत र अमानवीय भएको भन्दै इटालीमा यसको विरुद्ध प्रदर्शन चर्किएको हो ।

देशमा भइरहेको पछिल्लो प्रदर्शनको शृंखलाका कारण इटालीलाई युडिनेमा हुने खेल सार्न त्यहाँका मेयरले आग्रहसमेत गरेका थिए । तर, उनले आफ्नो मागप्रति कसैले चासो नदेखाएको जनाए ।

“मैले इजरायलको खेल सार्न अनुरोध गरेको थिएँ । यहाँ अहिले इजरायलको निम्ति अनुकूल वातावरण छैन । तर, सम्बन्धित निकायले विभिन्न कारण देखाउँदै अनुरोध स्वीकारेनन् । बन्द रंगशालामा खेल सञ्चालन गर्ने उपयुक्त उपाय हुनसक्छ,” मेयर अल्बर्टाे फेलिक डे टोनीले भने ।

नर्वेसँगको खेल इजरायलले ओस्लोस्थित यूलेभाल रंगशालामा खेल्ने तय छ । युडिनेमा इटालीले स्टाडियो फ्रुइली रंगशालामा इजरायलविरुद्ध खेल्ने तय छ ।

पछिल्लो साता, इजरायलले गाजामाथि गरेको आक्रमणको विपक्षमा इटालीका सडकहरूमा ठूलो संख्यामा प्रदर्शन भएका छन् । यही प्रदर्शनका क्रममा इटालीको रोम र मिलानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समेत जनाइएको छ ।

खेल तय भएसँगै नर्वेले पनि राजधानी ओस्लोमा समेत सुरक्षा कडा गरेको छ । नर्वेमा खेलका क्रममा कुनै पनि ‘फ्यान जोन’ नबनाइने तथा रंगशालाको दर्शक क्षमता पनि तीन हजारमा सीमित गरिएको बताइएको छ । रंगशालाका सडकहरू पनि खेल सुरु हुन एक घण्टाअगावै बन्द गरिने जनाइएको छ ।

नर्वेजियन प्यालेस्टिनी कमिटीले ओस्लोमा सोही दिन खेल हुने समयमै प्रदर्शन गर्ने घोषणा गरेको छ । विश्वकपको युरोपियन छनोटको समूह ‘आई’ मा रहेको इटाली दोस्रो र इजरायल तेस्रो स्थानमा छन् । यही समूहमा रहेको नर्वे १५ अंकसहित शीर्ष स्थानमा छ ।

इटाली र इजरायलले समान नौ अंक जोडेका छन् । समूहबाट विजेताले आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वपकमा सिधै स्थान बनाउने छ । यस्तै, उपविजेताले भने विश्वकपमा स्थान बनाउन ‘प्ले–अफ’ खेल्नुपर्ने समीकरण छ ।