
काठमाडौं, २२ असोज । ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन–काठमाडौंबीच सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् ।
लन्डनको ह्यारो वेष्टबाट चौंथो पटक निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन् । ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो’ ग्यारथले आफ्नो पिटिशनमा भनेका छन्, ‘ऐतिहासिक रूपमा बेलायत र नेपालबीचको सम्बन्ध गोर्खा सैनिकहरूको योगदानले गहिरो र अविच्छिन्न बनेको छ।’
पेटिसनमा थपिएको छ, ‘आज पनि यो समुदायले नेपालसँग बलियो पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राख्दै आएको छ ।’
हाल लन्डन र काठमाडौंबीच कुनै पनि नियमित सिधा व्यावसायिक हवाई उडान सञ्चालनमा छैन् । ‘यसकारण नेपाली तथा बेलायती यात्रुहरू (जसमा परिवार, विद्यार्थी, सहयोगी संस्थाका कर्मचारी, व्यवसायी र पर्यटकहरू समेत समावेश छन्) लाई लामो र खर्चिलो यात्रामा निस्कनुपर्छ । धेरैजसो यात्रामा दुई वा तीन ट्रान्जिट गर्नुपर्दा कुल यात्राको समय १४ घण्टाभन्दा बढी पुग्ने गरेको छ, जसले विशेषगरी ज्येष्ठ नागरिक र कमजोर यात्रुहरूका लागि थप कठिनाइ सिर्जना गरेको छ,’ पिटिशनमा भनिएको छ ।
यस सन्दर्भमा ब्रिटिश–नेपाली समुदायले ब्रिटिश सरकार, यातायात मन्त्रालय र सिभिल एभिएसन अथरिटीसँग ब्रिटिश एयरलाइन्स तथा लन्डनका प्रमुख विमानस्थलहरू जस्तै हिथ्रो, ग्याटविक र स्टानस्टेडको सहकार्यमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान विकल्पहरू खोजी र सुनिश्चित गर्न तत्काल पहल गर्न आग्रह गरिएको छ ।
सिधा हवाई उडान स्थापना गर्न सकेको खण्डमा बेलायत र नेपालबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुने, दुवै देशका लागि पर्यटन र व्यापारिक अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ ।
यसबाट हजारौँ ब्रिटिश–नेपाली परिवारका लागि पहुँच सहज हुने, ज्येष्ठ नागरिक तथा यात्रुहरूको कठिनाइ घट्ने साथै धेरै ट्रान्जिट भएका उडानहरूको सट्टा सिधा उडानले वातावरणीय प्रभाव घटाउने पिटिशनमा उल्लेख छ ।
‘सिधा उडानको सुरुवातले बेलायतको वैश्विक सम्पर्क, समावेशीता र साझेदारीप्रतिको प्रतिबद्धतालाई झल्काउनेछ भने बेलायत र नेपाल दुवै देशका समुदायहरूका लागि सार्थक र दीर्घकालीन लाभ पु¥याउनेछ’, पिटिशनमा भनिएको छ ।
यो लिंकमा पिटिशनमा हस्ताक्षर गर्न बेलायतस्थित नेपाली अगुवाहरूले आग्रह गरेका छन् । ट्राभल क्षेत्रमा ३० वर्ष बढीको अनुभव संगालेका लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक विराज भट्ट सिधा हवाइ उडानको पहल हुनु सकारात्मक भएपनि व्यवहारिक रूपमा सजिलो नभएको बताउँछन् ।
‘सिधा उडान हुँदा ग्राहकलाई पनि सस्तो पर्न जान्छ । हामी सबैजना नेपालमा कनेक्ट होस् भन्ने चाहन्छौं’, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका भट्ट भन्छन्, ‘हरेक एयरलाइन्सको कमर्सियल इन्ट्रेष्ट हुन्छ । तर, नेपालको मार्केट भोलाटायल (अस्थिर) छ । उडान शुरु गरेर टिकाउन सकिन्छ कि सकिन्न एयरलाइन्सले मुख्य रूपमा त्यो हेर्छन् ।’
ब्रिटिश एयरवेजले यसअघि मार्केट रिसर्च गरेको तर भायबल (व्यवहारिक) नभएपछि अगाडि नबढेको उनले बताए । बरु नेपाल एयरलाइन्सले बजार विस्तारका क्रममा सातामा दुई दिनमात्र भएपनि शुरु गर्न सके त्यो राम्रो हुने भट्टको सुझाव छ ।









प्रतिक्रिया