१४ असार २०८३, आइतबार

राहत सामग्रीसहित बाढीपहिरो पीडित भेट्न इलाम पुगे मुख्यमन्त्री कार्की

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्की बाढीपहिरो पीडितहरुका लागि राहत सामग्री लिएर इलाम पुगेका छन् ।

मुख्यमन्त्री कार्कीले मंगलबार बिहान इलामका बाढीपहिरो र विपद्बाट पीडितसँग भेटघाट गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रदेश सरकारले इलामका बाढीपहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ । बिहान हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको हो ।

मुख्यमन्त्री कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको जानकारी दिए ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको हो ।

मुख्यमन्त्री कार्कीका अनुसार स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टरमार्फत पठाइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार राहत सामग्रीमा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु छ ।

प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको उद्धारको कार्य पछि राहत सामग्री पठाएको हो । अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत सामग्री पुगेको छ । र थप सामग्री पुर्‍याउने सरकारको तयारी छ ।

बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ ।

बाढी पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।