
काठमाडौं, २० असोज । देशभर निरन्तर वर्षा र बाढी–पहिरोका घटनाले जनजीवन अस्तव्यस्त भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल बाजुराको बडीमालिका मन्दिर दर्शनका लागि आइपुगेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंहका अनुसार, हिजोदेखि सेनाको हेलिकप्टरले बाजुरा सदरमुकाम मार्तडी वरपर करिब दश फन्का लगाउँदा स्थानीय जनतामा “देशमा के भएको हो ?” भन्ने त्रास र जिज्ञासा दुवै फैलिएको थियो । तर, सम्बन्धित निकायसँग बुझ्दा सेनाको हेलिकप्टर प्रधानसेनापतिको भ्रमण कार्यक्रमअनुसार बडीमालिका मन्दिर दर्शनका लागि प्रयोग गरिएको पुष्टि भएको उनले बताए ।
स्थानीय बासिन्दाहरूले यस्तो कठिन समयमा सेनाको हेलिकप्टर धार्मिक प्रयोजनमा प्रयोग गर्नु उपयुक्त नदेखिएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार बाढी–पहिरोका कारण कयौं सडक अवरुद्ध र एम्बुलेन्सका बिरामी रोकिएका बेला त्यही हेलिकप्टर उद्धारका लागि प्रयोग भएको भए अझ अर्थपूर्ण हुने थियो ।
एक स्थानीयले भने, “देश संकटमा हुँदा पूजा होइन, नागरिकको उद्दार ठूलो पूजा हुन्थ्यो ।”
यस विषयमा सेनाको आधिकारिक धारणा सार्वजनिक भएको छैन । सेनाका प्रवक्ताको फोन पनि उठेन ।















प्रतिक्रिया