
काठमाडौं, २० असोज । चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ । फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ ।
चीनतर्फ सगरमाथा (माउन्ट कोमोलङ्मा) नजिकैको दुर्गम तिब्बती भिरालो क्षेत्रमा भारी हिमपात र हिम आँधी आउँदा कैयौँ पर्वतारोही फसेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार हिम आँधीका कारण त्यहाँ रहेका सयौँ पर्वतारोही शिविरहरूमा क्षति पुगेको छ । फसेका पर्वतारोहीहरूको उद्धारका लागि टोलीहरू खटाइएको र उद्धार प्रयास जारी रहेको बताइएको छ ।
चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको भिरालो क्षेत्रमा भारी हिम आँधी आउँदा करिब ५५० जना पर्वतारोही फसेका छन् । करिब ३५० जना पर्वतारोही टिंगरी क्षेत्रमा रहेको एक बैठक स्थलमा पुगेका थिए भने अन्य २०० जनासँग उद्धार टोली सम्पर्कमा रहेका छन् ।
पर्वतारोहीहरू चार हजार ९०० मिटर (१६ हजार फिट) भन्दा माथि फसेका थिए, जबकि सगरमाथाको कुल उचाइ आठ हजार ८५० मिटर छ । हिउँले बाटो अवरुद्ध हुनुअघि तल झर्ने प्रयास गरेका पर्वतारोहीका अनुसार उनीहरूका टेन्ट हिउँले ढाकेका थिए र जमिनमा करिब एक मिटर (३ फिट) हिउँ परेको थियो ।
फसेका मानिसहरू तल आउन सकून् भन्ने उद्देश्यले सयौँ उद्धारकर्ता आइतबारदेखि नै उचाइमा बाटो खाली गर्न अघि बढेका थिए । एक गाउँलेले खिचेको भिडियोमा घोडा र गोरुका साथ लामबद्ध टोली हिउँमा घुमाउरो बाटोतिर अगाडि बढ्दै गरेको देखाइएको छ ।
चीनमा राष्ट्रिय बिदा शुरू हुँदा पश्चिमी क्षेत्रहरूमा हिम आँधी आएको थियो । किङ्घाई प्रान्तको उत्तरी भागमा पनि अप्रत्याशित मौसम र निरन्तर हिमपातका कारण एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगबाट मृत्यु भएको थियो भने १३७ जनालाई उद्धार गरिएको सीसीटीभीले सोमबार जनाएको छ । करिब चार हजार मिटर (१३ हजार एक सय फिट) उचाइ भएको मेनयुआन काउन्टीमा खोजी कार्य कठिन भएको थियो ।
चीन र नेपालको सीमामा फैलिएको सगरमाथा क्षेत्रमा हालैको भारी वर्षाले नेपालतर्फ पनि ४० भन्दा बढीको ज्यान लिएको थियो। पर्वतारोहीहरू सगरमाथाको चिनियाँ क्षेत्र तिब्बतबाट विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रयास गर्छन् । यस दुर्गम क्षेत्रमा सरकारले सडक र पर्यटन विकासका लागि ठूलो रकम लगानी गरेको छ । यसअघि, जनवरीमा सोही क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो ।








प्रतिक्रिया