
काठमाडौं, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा चलिरहेको युद्ध अन्त्य गर्नका लागि भइरहेको शान्ति वार्ता प्रयासलाई ‘धेरै सफल’ भन्दै मध्यस्थकर्ताहरूलाई चाँडो अगाडि बढ्न आग्रह गरेका छन् । गाजा युद्ध रोक्न सोमबारबाट इजिप्टमा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता सुरु हुँदै छ ।
यो वार्ता अमेरिकी प्रस्तावित २० बुँदे शान्ति योजनाका आधारमा भइरहेको छ । हमासले बन्दी मुक्त गर्ने र गाजाको शासन एक प्राविधिक फिलिस्तिनी प्रशासनलाई हस्तान्तरण गर्ने जस्ता केही बुँदाहरू स्वीकार गरिसकेको छ । तर, शान्ति योजनामा उल्लेखित सबैभन्दा मुख्य बुँदा हतियार त्याग गर्ने र भविष्यमा शासनमा भाग नलिनेप्रति उसले स्पष्ट जवाफ दिएको छैन ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, ‘मलाई भनिएको छ कि पहिलो चरण यसै साता पूरा हुनसक्छ र म सबैलाई चाँडो गर्न अनुरोध गर्दै छु । समय अत्यन्तै महत्त्वपूर्ण छ, नभए ठूलो रक्तपात हुन सक्छ ।’
यद्यपि, वार्ताको तयारी भइरहेकैबीच इजरायली आक्रमण गाजामा जारी छ । इजरायली सरकारका प्रवक्ता शोश बेड्रोसियनले पत्रकारहरूसँग भने, ‘केही बमबारीहरू रोकिएका छन्, तर कुनै औपचारिक युद्धविराम भएको छैन ।’ प्रधानमन्त्री बेनजामिन नेतन्याहुले जीवन रक्षाका लागि आवश्यक भएमा जवाफी कारबाही गर्न सुरक्षा बलहरूलाई अनुमति दिएका छन् ।
गाजाबाट आएका रिपोर्टहरू अनुसार आइतबारसम्म पनि इजरायली हवाई तथा ट्याङ्क आक्रमणले धेरै आवासीय क्षेत्र ध्वस्त भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा कम्तीमा ६५ जनाको ज्यान गएको छ ।








प्रतिक्रिया