२१ जेष्ठ २०८३, बिहिबार

ओलीसँग सम्बन्धित ८ वटा घर जलाइएको विवरण दिँदै सूर्य थापाले भने– जल्लादले राष्ट्रिय सम्पत्ति खरानी पारे

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यको पदचापसम्म मेटाउन खोजेका आततायी जल्लादहरूले राष्ट्रिय सम्पत्तिमा आगो लगाएर खरानी बनाएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष ओलीसँग सम्बन्धित ८ वटा घर जलाइएको विवरण प्रस्तुत थापाले आततायी जल्लादहरूले राष्ट्रिय सम्पत्ति खरानी पारेको टिप्पणी गरेका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले ओलीको घरमा आगजनी गर्न नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा पुगेको उल्लेख गरे । थापाले क्षति ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ? भन्दै प्रश्न गरेका छन् ।

थापाले फेसबुकमा लेखेका छन्ः

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यको पदचापसम्म मेटाउन खोजेका आततायी जल्लादहरूले खासमा राष्ट्रिय सम्पत्तिमा आगो लगाएर खरानी बनाएका छन् । उहाँको खरानी पारिएको पुर्ख्यौली घरदेखि डेरासम्म हेरौं:

१. आठराई गाउँपालिका-४ ईवा, ते-हथुमस्थित जन्मघर, जो उहाँले बिक्री भएको लामो समयपछि फिर्ता गरेर ट्रष्टअन्तर्गत रख्नुभएको थियो ।

२. दमक-५ स्थित रोमनाथ ओलीको घर, जहाँ उहाँ झापा आउजाउ गर्दा बस्नुहुन्थ्यो, एउटा कोठा उहाँको लागि थियो । पछिल्लो समय त्यहँ ठाउँ अपुग भएर बस्नुहुन्नथ्यो ।

३. दमक-९ स्थित भाडामा लिएको घर, जहाँ उहाँ पछिल्लो समय झापा जाँदा बस्ने गर्नुहुन्थ्यो ।

४. कचनकेवल गाउँपालिका, पृथ्वीनगर हिमालीस्थित भाइको घर, जहाँ उहाँ अहिलेसम्म एक रात पनि बस्नुभएको छैन, ९६ बर्षीय बुबा प्राय: त्यहाँ भाइसँग बस्नुहुन्थ्यो ।

५. सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित मूलघर, जो उहाँकी श्रीमती राधिका शाक्यले जीवनभरिको कमाइ लगाएर बनाउनुभएको थियो ।

६. बालकोटस्थित भेटघाट घर, जो उहाँ पार्टी अध्यक्ष हुनुभएपछि भेटघाट व्यवस्थित गर्न बनाउनुभएको थियो ।

७. बालकोटस्थित पुस्तकालय घर, जो उहाँकी श्रीमती राधिका शाक्यले ठूलो मेहेनतका साथ बनाउनुभएको थियो ।

८. बालकोटस्थित सुरक्षाकर्मी बस्ने घर, जो उहाँ प्रधानमन्त्री भएर घर फर्किनुभएपछि बनाउनुभएको थियो । 

क्रम संख्या १,६, ७ र ८ का घर र जग्गा सबै केपी शर्मा ओली ट्रस्ट नेपाललाई प्रदान गरी आफ्नो शेषपछि राष्ट्रको सम्पत्ति हुने गराउनुभएको छ ।

नेपाली काँग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा आगजनी गर्न पुगेको भिडियो सार्वजनिक भइसकेको छ, तर यो क्षति केपी शर्मा ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ? सिंगो देशले बुझ्न जरूरी छ ।